इंग्लिस प्रिमियर लिग : टोटनह्याम विजयी

काठमाडौं, पुस ३० । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले हराएको हो । पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गरेर प्रभावशाली जित दर्ता गरेको हो ।

माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले एक एक गोल गरे । २६ औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४७ औँ मिनेटमा केनले व्यक्तिगत पहिलो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे ।

त्यसको १२ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले ३–० को अग्रता लियो । ८१ औँ मिनेटमा एरिक्सनले गोल गरेपछि घरेलु टोली ४–० ले विजयी भयो । जितपछि पाँचौँ स्थानको टोटनह्यामको २३ खेलबाट ४४ अंक भएको छ । २७ अंकसहित एभर्टन नवौँ स्थानमा छ ।

केनको कीर्तिमान

एभर्टनसँगको खेलमा दुई गोल गरेका केन प्रिमियर लिगमा टोटनह्यामबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यो सिजन प्रिमियर लिगमा २० गोल गरिसकेका केनले सबै प्रतियोगितामा गरेर टोटनह्यामबाट यो सिजन २८ खेलमा २८ गोल नै गरेका छन् । केनले एभर्टनसँगको खेलको ४७ औँ मिनेटमा गरेको गोल प्रिमियर लिगमा टोटनह्यामबाट गरेको ९७ औँ गोल थियो ।

त्यसको १२ मिनेटपछि उनले लिगमा ९८ औँ गोल गरे । ५९ औँ मिनेटमा गरेको गोलसँगै उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने टोटनह्याम खेलाडीको रुपमा नाम लेखाउन सफल भए । यसअघि यो कीर्तिमान शेरिङ्घमको नाममा थियो ।

उनले सन् १९९२ देखि १९९७ तथा २००१ देखि २००३ सम्म टोटनह्याममा रहँदा प्रिमियर लिगमा ९७ गोल गरेका थिए । उनले २ सय ३७ खेलमा ९७ गोल गरेर कीर्तिमान बनाएका थिए । तर केनले भने ९८ गोल गर्न मात्रै एक सय ३५ खेल खेल्नु पर्‍यो । खेलपछि प्रशिक्षक पोकेटिनोले केनको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =