मेक अपमा राष्ट्रपतिद्वारा लाखाै खर्च

एजेन्सी । एक सय दिनमा एउटा सामान्य व्यक्तिले आफ्नो सिँगारपटारमा कति खर्च गर्ला ? महिलाको हकमा मेक अपको खर्च अलि बढी आउला तर पुरुषको हकमा चाहिँ सामान्यतया खासै उल्लेखनीय खर्च हुदैन । तर, फ्रान्सका तन्नेरी राष्ट्रपति इम्यानुअल म्याक्रोले आफूले सत्ता सम्हालेको १ सय दिन अर्थात् हनिमुन अवधिमा मेक अपमै झन्डै ३१ लाख रुपैयाँ बराबरको रकम खर्च गरेका छन् ।

ली प्वाइन्ट नामक म्यागेजिनका अनुसार राष्ट्रपति म्याक्रोले सुरुवाती १ सय दिनमा आफ्नो मेक अपमै २६ हजार युरो खर्च गरेका हुन् । यो तथ्यलाई राष्ट्रपति कार्यालयले समेत स्विकारेको छ ।

३९ वर्षीय म्याक्रो हालै एक हप्ते बिदा मनाएर काममा फर्किएका छन् । उनी फ्रान्सको चर्चित जलिट श्रम कानुनको विषयलाई लिएर चर्चामै छन् र यस्तोमा उनले मेक अपमा गरेको खर्चको खुलासा हुँदा उनी जनताको आलोचनाको सिकार हुने देखिएकोे छ ।

राष्ट्रपति भवनमा प्रवेश गरेयता उनले दुईजना मेक अप आर्टिस्टको बिल भुक्तानी गरेका छन् । जसमा एकजनाको १० हजार युरो र अर्काको १६ हजार युरोको बिल थियो ।

राष्ट्रपति कार्यालयले खर्चको बचाउ गर्दै आकस्मिक रूपमा मेक अप आर्टिस्टहरुलाई बोलाइएको भन्दै अबदेखि राष्ट्रपतिको कस्मेटिक बिल तीव्र रूपमा घट्ने दाबी गरेको छ । अहिले भुक्तान गरिएको बिलको रकम धेरै भएता पनि म्याक्रोले यस अघिका राष्ट्रपतिले मेकअपमा गर्ने गरेको खर्चको तुलनामा निकै कम भएको अधिकारीहरू बताउँछन् ।

गार्जियन पत्रिकाका अनुसार पूर्व राष्ट्रपति फ्रान्स्वा ओलन्द पनि यस्तै विवादमा परेका थिए । उनले १ सय दिनमा मेक अपमा ३० हजार युरो खर्चिएका थिए । उनले आफ्नो कपाल काट्नैका लागि एक नाई भर्ना गरेका थिए जसलाई चार महिनाको झन्डै १० हजार ज्याला दिइन्थ्यो । त्यस्तै, पूर्व राष्ट्रपति निकोलस सार्कोजीले हरेक महिना आफ्नो मेक अपमा ८ हजार युरो खर्च गर्दथे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *