ताप्लेजुङकाे प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्र हिमपातले सेताम्मे

ताप्लेजुङ, माघ १३ । बिहिबारको वर्षापछि भएको हिमपातले प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्र सेताम्मे बनेको छ । विगतका वर्षहरुमा पुस दोस्रो साताबाटै हिउँ पर्ने गरेको भए पनी यस पटक माघमा मात्रै परेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो बढेको भए पनि पाथीभरा दर्शन गर्नेहरु आइरहेका छन् ।

हाल दैनिक ५० जना भन्दा बढीले पाथीभराको दर्शन गरिरहेको पाथीभरा देवी देवी मन्दिर संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । हिउँले पाथीभरा क्षेत्रको देउरालीदेखि माथीको क्षेत्र सेताम्मे बनेको छ । सो क्षेत्रका तेर्से, भालुगौडे, काफ्लेपाटी, फेदी र मन्दिरैसम्म हिउँले ढाकेको छ । फेदीमा तीन फिटसम्म हिउँ परेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए । पाथीभरा मन्दिरमा भने पाँच दिनदेखि हिउँ पर्न नरोकिएको पुजारी डिल्ली आचार्यले जानकारी दिए ।

हिमपात भएसंगै चीसो बढेपछि जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएको भट्टराईको भनाई छ । पहिले नवरात्र र रामनवमीको समयमा वर्षमा दुई पटक मात्र पाथीभरा दर्शन गर्न तिर्थयात्रीहरु आउने गरेपनि पछिल्लो समय बाह्रै महिना आउन थालेका छन् । मुलुकका सबै जिल्ला सहित भारतको सिक्किम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, विहार लगायतका राज्य तथा पाकिस्तान र बंगलादेशबाट पनि पाथीभराको दर्शन गर्न आउने बढ्दो क्रममा रहको समितिले जनाएको छ ।

पाथीभराको थप प्रचार प्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित यही फागुन १ गते देखि ३ गतेसम्म पाथीभरा पर्यटन महोत्सवको समेत आयोजना गरिने भएको छ । यसैबिच लामो समयपछि भएको वर्षाले बालीनालीमा फाइदा पुगको छ । कृषकले लगाएको गहुँ, आलु, तोरी र तरकारी खेती फस्टाउने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका सुचना अधिकारी मित्रलाल पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =