रौतहटमा बढ्यो चुनावी सरगर्मी
“
गौर,११ भदौ । राजपा चुनावमा होमिएपछि २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुने पक्का भएको छ । दुई नम्बर प्रदेशमा सबै ठुला दलले आ आफ्नो शक्ति लगाउने भएका छन् । देशकै सबैभन्दा धेरै नगरपालिका र २ गाँउपालिका रहेको रौतहटमा टिकट वितरणमा नेपाली काँग्रेसमा विवाद देखिएको छ । स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल विगत तीन दिन देखी रौतहटमै सक्रिय भएका छन् । राजपा समेत जिल्ला स्तरिय बैठक गरेर उमेद्वार छनौटमा सक्रिय भएर लागेको छ ।
जिल्लाको सदरमुकाम गौरमा नेकपा एमालेबाट शम्भु साह, सङ्घीय समाजवादी फोरमबाट गौरीशंकर प्रसाद यादव र राजपाबाट अजय कुमार गुप्ता चुनावी मैदानमा उत्रेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रबाट भने गौरमा कसले उमेद्वारी दिने भन्ने कुराको चर्चा समेत हुन सकेको छैन ।
जिल्लाको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसमा उमेद्वार छनौटमा विवाद उत्पन्न भएको कार्यकर्ताहरूले बताएका छन् । सो नगरपालिकामा रकम लिएर जिल्ला सभापतिले टिकट दिएको आरोप लागेको छ । यध्यपि सो नगरपालिकामा काँग्रेसका मेयरका प्रत्यासी धेरै रहेको र पैसावालालाई टिकट दिन लागेको आरोप लागेको छ । नेकपा एमालेले जिल्लाका सबैजसो स्थानीय तहमा उमेदवार तय गरिसकेको सो पार्टीका प्रचार विभाग प्रमुख बिपिन गौतमले बताए ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा माओवादी केन्द्र बाहेकका दलले उमेद्वार तय गर्न सकेका छैनन् । माओवादी केन्द्रले पार्टीका पोलिटब्युरो सदस्य युवराज भट्टराईलाई चन्द्रपुरनगरको मेयरमा अघिसारेको छ । नेकपा एमाले र नेपाली काँग्रेसले भने अहिले सम्म मेयर, उपमेयरका उमेद्वार तय गर्न सकेको छैन । नेपाली काँग्रेसमा धनलाल ठोकर र रामचन्द्र चौधरी मध्यमा एक जनाले मेयरको टिकट पाउने पक्का रहेको एक जना काग्रेस कार्यकर्ताले बताए ।
नेकपा एमालेमा समेत बाबुराम दाहाल र उद्धव रेग्मी मध्यमा एकजनाले टिकट पाउने बताइएको छ । एमालेले समेत समयमा उमेदवार तय गर्न नसक्दा कार्यकर्तामा निराशा छाएको कार्यकर्ताहरूले बताएका छन् । नेपाली काँग्रेस चन्द्रपुरका दुवै मेयरका आकंक्षीहरु आफ्ना सर्मथक सहित राजधानीमा टिकटका लागि लविङमा व्यस्त रहेको कार्यकर्ताहरूले बताएका छन् ।
सबैको चासोको रूपमा रहेको जिल्लाको चन्द्रपुर नगरमा कसले एमाले र काँग्रेसबाट मेयरको टिकट पाउने भन्नेमा सबैको ध्यान केन्द्रित रहेको छ । नेपाली काँग्रेसको चन्द्रपुर नगरको मेयरको टिकट प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्केपछि मात्र पक्का हुने एक जना स्थानीय नेताले बताए । रामचन्द्र चौधरी र धनलाल ठोकर दुबैजना आफ्ना समर्थक सहित राजधानीमै रहेका छन् ।
यता नेकपा एमाले चन्द्रपुर नगरको केही वडामा वडा अध्यक्षका उमेद्वार समेत चयन गर्न सकेको छैन । चन्द्रपुर नगरको चासोका रूपमा हेरिने चार नम्बर वडामा नेपाली काँग्रेसले नेपाल कार्की र माओवादी केन्द्रले एकराज थापालाई मैदानमा उतारेको भए पनि नेकपा एमालेले अहिले सम्म उमेद्वार चयन गर्न सकेको छैन । उमेद्वार चयनमा ढिलाइ भएको कार्यकर्ताले बताउन थालेका छन् ।
यता एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सम्पूर्ण शक्ति प्रदेश नं २ को निर्वाचनमा केन्द्रित भइसकेको जानकारी दिएका छन् । उनले भने, नेकपा एमालेले लिएको अडान र अघि सारेको सोचलाई आम मतदाताले राम्ररी बुझिसकेका छन् । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बाढीपहिराको पीडा खेप्नु परे पनि स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनप्रति मतदाता सकारात्मक र उत्सुक देखिएकाले निर्वाचनको वातावरण बिस्तारै बन्दै गएको प्रतिक्रिया दिए । मुलुकभर एकै पटक निर्वाचन गर्नुपर्नेमा २ नं प्रदेशमा तेस्रो चरणमा पुर्याइएको प्रति भने मतदाताको असन्तुष्टि रहेको उनको भनाइ थियो ।
काँग्रेसका नेता रमेश लेखकले पार्टीका तर्फबाट त्यस क्षेत्रको निर्वाचनका लागि सबै तयारी भएको तथा अधिकांश जिल्लामा उम्मेदवारी मिलेको हुँदा घोषणा गर्न मात्र बाँकी रहेको प्रतिक्रिया दिए । उनले भने, पार्टीको पक्षमा राम्रो वातावरण बनेको छ, बिस्तारै सबै नेता तथा कार्यकर्ता त्यस क्षेत्रमा पुगेपछि चुनाव प्रचारप्रसार व्यापक हुनेछ ।
माओवादी केन्द्रका नेता एवं सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्वाचनका लागि चाहिने आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको जनाउँदै त्यस क्षेत्रमा निर्वाचनका लागि प्रचारप्रसार सुरु भइरहेको बताए ।
“