म्यान्मारमा रोहिंग्या विद्रोहीद्वारा युद्धविरामको घोषणा

काठमाडौं, भदौ २५ । म्यान्मारमा रोहिंग्या मुस्लिम विद्रोहीले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेका छन्। म्यान्मार सरकारका तर्फबाट युद्धविरामको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
यसलाई म्यान्मारको पश्चिम भागमा रहेको मानवीय संकट कम गर्न उठाइएको एक कदम मानिएको छ । म्यान्मारको सुरक्षा बलमाथि आराकान रोहिंग्या साल्वेशन आर्मीले गरेको आक्रमणपछि दुई सातायता त्यहाँको सेनाले रखाइन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुस्लिममाथि सशस्त्र अभियान चलाउँदै आएको छ । जसका कारण झन्डै तीन लाख रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका छन्।
रोहिंग्या विद्रोहीहरुले सेनासँग पनि युद्धविरामको लागि आह्वान गरेका छन् । यस्तै, उनीहरुले मानवीय सहयोग गर्ने संगठनहरुसँग सहयोग कार्य फेरि सुरु गर्न आग्रह गरेका छन्।

म्यान्मार सरकारका एक मन्त्रीले भागेर बंगलादेश गएका रोहिंग्याहरुलाई देश फर्केर आउन नदिने बताएका छन्। म्यान्मारबाट भागेका रोहिंग्या मुस्लिमहरु बंगलादेशको काक्स बजारमा शरण लिएर बसिरहेका छन् । उनीहरुको लागि तत्काल खाना, पानी र स्वास्थ्य सेवाको खाँचो देखिएको छ।
म्यान्मारका अल्पसंख्यक समुदाय रोहिंग्या मुस्लिमहरुका अनुसार, सेना र रखाइन बुद्धिस्टहरुले उनीहरुको गाउँमा आगो लगाइरहेका छन् । तर, म्यान्मारको सरकारले यो आरोपको खण्डन गर्दै सेना रोहिंग्या चरमपन्थीहरुसँग लडिरहेको बताएको छ।








