चुनावमा एउटै एजेन्डा लिएर फरक दलका नेताहरू भाेट माग्दै

हेमन्त केसी, जाजरकोट । जिल्ला सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् ।

गाउँ गाउँमा भएका चुनावमा वाम गठबन्धन र नेपाली काँग्रेसको प्रचार र चुनावीसभामा सबै उम्मेदवारका करिब एकैखालका एजेण्डा छन् । वाम गठबन्धका चुनावी एजेण्डा लिखित छ भने नेपाली काँग्रेसको अलिखित छ ।

वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारका एकैखालका एजेण्डाले गर्दा यहाँका स्थानीयवासीले केन्द्रमा कुन उम्मेदवारको पहुँच कति छ भनेर हिसाब गर्न थालेका छन् ।

वाम गठबन्धनका उम्मेदवारले अन्तर्राष्ट्रिय पुलकारूपमा भेरी करिडोर राजमार्गको विकास गरी भारतको रुपैडिहादेखि तिब्बत जोड्ने बाटो, लुम्बिनी बौद्धस्थल, दाङ नेपालगञ्जदेखि कर्णाली रारासम्म पुग्ने मूलढोकाको रूपमा रहेको चाखुरे सुरुङ मार्ग निर्माण गर्ने महत्वाकांक्षी योजनादेखि स्थानीय विकास निर्माणका कार्य निर्माण गर्नेसम्मका साझा चुनावी मुद्दा बनाएका छन् ।

उक्त एजेण्डामा जिल्लाको पर्यटनसँग जोडिएको कुशेमुसे, चाखुरे, ठाकुरजी गाध, नदाइडाप, पदमार्ग निर्माणका साथै ताल संरक्षण, भ्यू टावर निर्माण तथा हिम चिप्लेटीको निर्माणमा जोड दिइएको छ । धार्मिक, संस्कृतिक, जैविक सम्पदालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ । जिल्लाका दुई ठाउँ दल्ली र थलहमा प्राविधिक शिक्षालय निर्माण गरी जिल्लामै दक्ष जनशक्ति उत्पादन गर्ने कुरा उल्लेख छ । महिला स्वयंसेविकालाई जीवन निर्वाह हुने गरी मासिक भत्ताको व्यवस्था गर्नेजस्ता एजेण्डा पनि समावेश छ ।

निर्मार्णाधीन नलगाड जलविद्युत् परियोजना सम्पन्न गर्दै भेरी, मजकोट खोला, छेडागाडलगायका साना, ठुला सबै विद्युत् निर्माण गरी जाजरकोट उज्यालो बनाउने लक्ष्य राखिएको छ । जिल्लाका सबै ठाउँमा सडक सञ्जालले जोडेर आमनागरिकलाई सुविधा पु¥याउने पनि सो एजेण्डामा उल्लेख छ ।

यता नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाह, प्रदेशसभा सदस्यका उम्मेदवार ‘क’ वेदराज सिंह र ‘ख’ का उम्मेदवार दीपकजंग शाहले व्यक्तिगतरूपले कुनै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छैनन् । उनले चुनावी भाषणमा विदेश जाने युवालाई रोकेर स्वदेशमै स्वरोजगार सिर्जना गरी जिल्लाको विकास गर्ने, बढ्दो भ्रष्टाचार न्यूनीकरण गर्ने, राष्ट्रियस्तरका आयोजना निर्माणका लागि दबाब दिने लगायतका चुनावी एजेण्डा उठाएका छन् ।

प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार बेदराज सिंहले अहिले महत्वकांक्षी एजेण्डा उठाउने पछि पूरा गर्न नसकेकामा जनताले नपत्याउने भएकाले व्यक्तिगत प्रतिबद्धतापत्र सार्वजनिक नगरेको बताए ।

नेपाली काँग्रेसले केन्दीयस्तरबाट सार्वजनिक गरेको घोषणापत्र नै हाम्रो समृद्धिको योजना भएकाले जिल्लाका लागि छुट्टैे बनाउनु नपर्ने उनकाे भनाइ थियाे । सिंहले भनेजस्तै प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजीवविक्रम शाहले पनि व्यक्तिगत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छैनन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेत, प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार गणेशप्रसाद सिंह, ‘ख’ का उम्मेदवार करवीर शाहीले साझा एजेण्डामार्फत आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

स्थानीयवासीले जाजरकोटको समग्र विकासका लागि चाहिने नेतृत्वको खोजी गरिरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । राज्यका विभिन्न निकायममा पहुँच बढाउन र स्थायित्वको खोजी जिल्लाबासीले गरिरहेको शाहको भनाइ छ ।

स्थानीय चुनावको भोटका आधारमा हेर्ने हो भने वाम गठबन्धन बलियो देखिन्छ । दोस्रो संविधानसभा चुनावमा पनि जिल्लाको क्षेत्र नं १ मा माओवादी केन्द्रकै बस्नेतले जितेका थिए भने क्षेत्र नं २ मा नेपाली काँग्रेसका शाहले बाजिमारेका थिए । अहिले उनीहरू दुवैजना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । राजीव जिल्लाका लागि चाहिने र शक्ति केन्द्रीय राजनीतिका लागि चाहिने पात्र रहेको राजनीतिक विश्लेषकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =