केन्द्र र प्रदेशको निर्वाचनमा जुट्न निर्देशन

गोरखा, भदौ १०  । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने केन्द्र र प्रदेश निर्वाचनमा जुट्न गोरखाका नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काँग्रेस गोरखाले आज सदरमुकाममा आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनमा जस्तै केन्द्र र प्रदेश निर्वाचनमा पनि पार्टीको वर्चश्व कायम राख्न निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “तोकिएको समयमै केन्द्र र प्रदेशको निर्वाचन हुन्छ । निर्वाचन एकै चरणमा हुन्छ । नभए हिमाली र पहाडी भेगमा पहिलो र दोस्रो चरणमा तराईमा निर्वाचन हुन्छ । निर्वाचनका लागि तयारीमा जुट्नुहोस् ।” स्थानीय, प्रदेश र केन्द्र निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

मुलुकमा देखिएका समस्या समाधान गर्न काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत मुख्य दल एक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । मन्दिर जीर्णोद्धारमा देखिएका समस्याबारे मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठसँग उहाँले जानकारी लिनुभएको थियो ।

मन्दिर जीर्णोद्धारको काम करिब ८५ प्रतिशत सकिएको बताउँदै संयोजक श्रेष्ठले छानामा सुनको जलप लगाउन करिब १२ किलोग्राम सुन आवश्यक परेको बताउनुभयो । मन्दिर जीर्णोद्वार गर्न सरकारले रु चार करोड दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *