पत्रपत्रिकाका प्रमुख समाचार : गिजोलियो प्रदेश राजधानी मुद्दा

काठमाडौं, पुस २४ । आजका धेरैजस्ता राष्ट्रिय दैनिकहरुले प्रदेश राजधानी विवादलाई मुख्य समाचार बनाएका छन् । यस्तै, चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको, एमाले–माओवादी बिचको पार्टी एकताको प्रकृया, काँग्रेसको ५ बुँदे सुधार योजना लगायतका विषयलाई पत्रपत्रिकाले प्राथमिकता दिएका छन् ।

गिजोलियो प्रदेश राजधानीको मुद्दा

सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व समयमै पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिएको छ । प्रदेश राजधानी माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेको विषयलाई कान्तिपुर दैनिकले आज मुख्य समाचार बनाएको छ ।

‘गिजोलियो प्रदेश राजधानीको मुद्दा’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ– राजनीतिक दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि र अन्य सरोकारवालाले आ–आफ्नो अनुकूलमा पार्ने लबिङ तीव्र पारेपछि प्रदेश राजधानीको मुद्दा गिजोलिएको हो । आन्दोलनहरु चर्किँदै जान थालेपछि सरकारले भने प्रदेशको अस्थायी राजधानी नभनी प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि अस्थायी स्थान तोक्ने विकल्प अघि सारेको छ ।

संविधानले प्रदेशसभाको दुई तिहाइले प्रदेश राजधानीको टुंगो नगर्दासम्म सरकारले तोकेको मुकामबाट कार्यसञ्चालन हुने व्यवस्था गरेको छ ।

चीन जाने सामान घट्दै

नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ । बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेकोलाई आज अन्नपूर्ण पोस्ट दैनिकले आर्थिक पृष्ठको मूल समाचार बनाएर छापेको छ ।

नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ । २०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ । आ.व. २०७०/०७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो । आ.व २०७३/०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ ।

समाचार अनुसार, नेपालको चीनसँग बढ्दो व्यापारघाटाका विषयमा चीनको चासो व्यवहारमा परिवर्तन हुन सकेको छैन । नेपालमा रहेको चिनियाँ दूतावासले दुई साता अघि एक कार्यक्रममा नेपालबाट चीन सामान नगएकोमा चिन्ता व्यक्त गरेको थियो ।

पशुपतिको बालुवामा मन्त्रीको गिद्धेदृष्टि

अन्नपूर्ण पोस्ट दैनिकले आज पशुपतिको बालुवा ठेक्कामा भइरहेको चलखेलको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । राज्यकोषमा करोडौं क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको समाचारमा उल्लेख छ ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू निकटका ठेकेदारलाई बालुवा ठेक्का दिन गृहकार्य भइरहेको छ ।

उपप्रधानमन्त्री गच्छदारले पर्यटनमन्त्री देवलाई पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिने न्यूनतम रेटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेर स्वीकृत गराउन दबाब दिँदै आएको स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले समाचार लेखेको छ ।

मन्त्री देवले अख्तियारको कारबाहीमा पर्न सक्ने डर देखाउँदै पन्छन खोजे पनि अहिले गच्छदारको दबाब थेग्न नसकेपछि उनी यो प्रक्रियालाई अगाडि बढाउन लागेका छन् । देव गच्छदारकै कोटामा मन्त्री बनेका हुन् ।

कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ । यही जग्गाको बालुवा ठेक्कामा दिने गृहकार्य भएको हो । व्यवसायीका अनुसार यो क्षेत्रमा झन्डै ५ अर्ब बराबरको बालुवा छ तर अहिले कोषको राजस्वमा ३० देखि ४० करोड मात्रै आउने गरी ठेक्काको योजना बुनिएको छ ।

चिसोले जनजीवन प्रभावित, झण्डै दुर्इ दर्जनको ज्यान गयो, हवाई उडान प्रभावितयसका अलावा एमाले–माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको, चीनसँगको नेपालको व्यापार घाटा बढिरहेका बेला त्यहाँ जाने सामान घटेको, पशुपतिको बालुवामा मन्त्रीले चलखेल गरेकोलगायत समाचारले पनि पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

शीतलहरले तराईमा २३ को मृत्यु भएको र जनजीवन प्रभावित भएको विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाका अनुसार, सप्तरीमा १४ र रौतहटमा पाँच जनाको मृत्यु भएको छ । यसबाहेक देशका विभिन्न स्थानमा झण्डै अाधा दर्जनले हालसम्म चिसाेका कारण ज्यान गुमाएका छन् ।

प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित भएको छ । समाचार अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित बन्यो । आन्तरिकतर्फ अधिकांश क्षेत्रको उडान प्रभावित भएको समाचारमा उल्लेख छ ।

तर, नागरिक दैनिकले भने चिसाेले मध्यपूर्वी मधेसमा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे लेखेकाे छ । राजधानी दैनिकले चिसाेका कारण देशभर १९ काे मृत्यु भएकाे समाचारलार्इ मुख्य समाचार बनाएकाे छ ।

‘कर्णालीले कसरी थेग्छ माइनस ८ डिग्री ?’

कान्तिपुर दैनिकले कर्णालीले कसरी थेग्छ माइनस ८ डिग्री ? भनेर ५ जिल्लाहरुको समाचारलाई कम्पाइल गरेको छ ।

समाचारअनुसार शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर मानइनस ८/१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका छन् । कर्णालीका उच्च लेकाली बस्तीका काम गर्ने उमेरका अधिकांश मानिस तल्लो भेगमा व्यापार गर्न ओर्लेका छन् । घर कुर्न बसेका महिला, वृद्धवृद्धा र बालबालिकाका लागि झण्डै ६ महिनालाई पुग्ने बन्दोबस्ती मिलाएर उनीहरु पहाड र तराई झरेका छन् ।

समाचारमा लेखिएअनुसार हिमपातपूर्व नै खानाको जोहो, दाउरा, चौपायाका लागि घाँसको व्यवस्था गरिएको हुन्छ । दिनभरी घरभित्रै आगो तापेर बस्ने, उसिनेका गेडागुडी, आलु खाने गरिन्छ । चौपायालाई सुकेका खर पराल खुवाउने गरिन्छ ।

 

प्रमुख निर्वाचन आयुक्त यादवले खोजे ‘सम्मानजनक व्यवस्थापन’

नागरिक दैनिकले प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेको समाचारलाई प्राथमिकता दिएको छ ।

‘२०७५ चैत १० गतेसम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै सम्मानजनक व्यवस्थापन खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ,’ समाचारमा लेखिएको छ ।

समाचारमा थप लेखिएको छ– ‘असहज परिस्थितिबीच पनि तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराएँ, त्यसको राज्यले उचित सम्मान दिनुपर्छ,’ यादवलाई उद्धृत गर्दै माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘मेरो कहीँ न कहीँ उचित र सम्मानजनक व्यवस्थापन होस् भन्ने चाहान्छु ।’

संविधानतः दोहोर्याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’को खोजी गरेको समाचारमा उल्लेख छ ।

कांग्रेस सुधारका लागि पाँचबुँदे अवधारणा

नागरिक दैनिकले नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यहरुले पार्टी सुुधारका लागि पाँचबुँदे अवधारणा तयार पारेको समाचारलाई भित्री पृष्ठमा स्थान दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय भोगेसँगै बिभिन्न पक्ष र तहबाट सुधारको आवाज आइरहेका बेला नेता रामचन्द्र पौडेल पक्षका १४ केन्द्रीय सदस्यले नयाँ अवधारणा तयार गरेको समाचारमा उल्लेख छ । १४ केन्द्रीय सदस्यले पार्टीलाई विधिविधानअनुसार चल्न नसक्दा अहिलेको अवस्था आएको ठहर गर्दै पार्टी पदाधिकारी नियुक्ति र विभागसमेत गठन हुन नसकेको निष्कर्ष निकालेका छन् ।

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेतासँग छलफल गरेपछि अवधारणालाई अन्तिम रुप दिने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =