पत्नीको लाठी प्रहारबाट ८३ वर्षीय वृद्धको मृत्यु

दोलखा, भदौ ९ । दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

पत्नीको पिटाइबाट मेलुङ गाउँपालिका वडा नम्बर–४ का कर्णबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *