पाँचथर र सिन्धुलीमा भाइरल ज्वरोका विरामी बढे, यस्ता छन् लक्षण

सिन्धुली, भदौ ९ । मौसम परिवर्तनसँगै पछिल्लो समय पाँचथरमा भाइरलको बिरामी बढेका छन् । एक हप्ता अघिदेखि दैनिक ५० भन्दा बढी ज्वरो, टाइफाइडलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला अस्पताल पाँचथरमा पनि उपचारका लागि आउनेहरुको संख्या बढ्दै गएकोछ ।

बिरामीको चाप बढ्दै गएपछि ठाउँको अभावमा भुइँमै राखेर उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर पवनकुमार शाहले जानकारी दिए ।

मौसममा परिवर्तन, दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालले जनाएको छ ।

यता सिन्धुलीमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । सिन्धुलीका स्वास्थ्य चौकी, विभिन्न अस्पताल र क्लिनिकहरुमा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

सिन्धुली अस्पतालमा दैनिक ३० देखि ४० जना आउने गरेकोमा अहिले दैनिक ३ सयको हाराहारीमा भाइरल ज्वरोका विरामी आउने गरेका छन् ।

भाइरल रोगबाट विशेष गरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

संक्रमितहरुमा खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ ।

सिन्धुलीमा केही सातायता फैलिएको भाइरल ज्वरोका कारण अधिकांश गाउँका बासिन्दा बिरामी परेका छन् भने, झालापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामीको संख्यासमेत बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *