चूडामणिको घरमा पुग्यो अख्तियारको टोली, बयान दिन किन मानेनन् चूडामणिले ?

कात्तिक २३, काठमाण्डौ । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माले अख्तियारलाई नै अटेरी गरेका छन् । शर्मालाई बयानका लागि पटक–पटक बोलाउँदा समेत नआएपछि अख्तियारको टोली उनको घरमै पुगेको छ ।

अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटक पटक ताकेदा गर्दा समेत अटेरी गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ । अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो ।

शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो ।

विभिन्न व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो। झण्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो। आयोगमा रहँदा नाम मात्रको कर उठाएको आरोप उजुरीमा थियो।

सोही उजुरीमा छानबिन हुँदा अनियमितता देखिएपछि बयानमा उपस्थित भएका शर्मालाई कर छली गरेको आरोपमा गत जेठ १९ गते अख्तियारले पक्राउ गरी हिरासतमा लिएको थियो । उनलाई अदालतमा उपस्थित गराइवरि म्याद थप गर्दै थुनामा राखिएको थियो । त्यसै क्रममा असार १४ गते उनलाई ३ अर्बभन्दा बढी रकम धरौटी तोकियो । सो धरौटी बुझाउन नसकेपछि शर्मा थुनामा बस्न बाध्य भएका थिए ।

तर, शर्माकी पत्नी कल्पना उप्रतीले आफ्नो पतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारक्षेत्र भन्दा बाहिर गएर पक्राऊ गरेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । सोही रिटका आधारमा सर्वाेच्च अदालतले शर्मालाई गत श्रावण २७ गते हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =