लाखौँ पर्ने जग्गा तेस्रो व्यक्तिको नाममा नामसारी गर्न आँटेको भेटिएपछि…

भदौ ८, भैरहवा । रुपन्देहीको मालपोत कार्यालय मझगावाले लाखौँ रुपैयाँ पर्ने जग्गा वास्तविक हकवालालाई थाहा नदिइ तेस्रो व्यक्तिको नाममा नामसारी गर्न आँटेको तथ्य भेटिएको छ । मालपोत कार्यालय र सम्मरीमाई गाउँपालिका-७ को वडा कार्यालयको मिलेमतोमा मर्चवार क्षेत्रको साविकको बेतकुइया गाविसमा रहेको १ विघा ५ कठ्ठा साढे ९ धुर जग्गा यसरी नामसारी गर्न आँटिएको थियो ।

साविक बेतकुईया गाविसका कोयल धोवीको मृत्युपछि उनको हकवालामा एक मात्र छोरी झिनकी धोबी रहेकी छिन् । तर, झिनकीका काकाहरू बिश्वम्भर धोबी र हरिहर धोबीले दाजुको जग्गाको हकदार कोही पनि नभएको भन्दै आफ्नो नाममा नामसारी गराउन खोजेका थिए ।

घटना बाहिर आएलगत्तै मालपोत कार्यालय मझगावाले मिसिलबाट नामसारी निवेदन नै गायब पारेको छ । नामसारीको लागि मालपोत कार्यालयमा दिइएको निवेदन देखाउन सञ्चारकर्मीले माग गर्दा मिसिलमा निवदेन नरहेको मालपोत कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब सुब्बा रामप्रसाद हरिजनले बताए ।

नामसारी निवदेन कार्यालयको दर्ता किताबमा २०७३ वैशाख २४ गते दर्ता नम्बर ८७७ मा दर्ता रहेको देखिए पनि कार्यालयले उक्त निवेदन नै गायब पारेको हो । मालपोतमा मुद्दा फाँट हेर्ने निमित्त प्रमुख हरिजनले पहिला त संलग्न मिसिलमा निवेदन लेख्नै बाँकी रहेको दाबी गरेका थिए । सम्बन्धित मिसिल लेखापढि ब्यावसायीसँग रहेको र त्यसमा निवेदन नै नरहेको उनको दाबी थियो । यता मालपोत कार्यालय मझगावाका प्रमुख राधेश्याम बस्यालले नामसारीको पुरानो निवेदन निकालेर त्यसमा पुरानै मितिमा तोक आदेश गरेको स्वीकार गरेका छन् । उक्त निवेदनमा पुनः तोक आदेश गर्न मात्र मालपोतका कर्मचारीहरुले १ लाख ५० हजार रुपैयाँ घुस लिएको र हकवालालाई लुकाएर जग्गा नामसारी गर्नका लागि ५ लाख रुपैयाँमा ‘डिल फिक्स’ भएको स्रोतको दाबी छ ।

छोरी झिन्कीलाई नदेखाई कोयलको दुई भाइको नाममा मात्र जग्गा नामसारी गर्नका लागि वडा सचिव पूर्णप्रसाद अर्याल, वडा सहायक राधेश्याम कुर्मी, मालपोत प्रमुख राधेश्याम बस्याल र मालपोत कार्यालयका नासु रामप्रसाद हरिजन समेतले मोटो रकम लिएको स्रोतले बतायो । काकाहरुले जग्गा नामसारीको लागि प्रयास गर्न सक्ने आंशकामा झिन्कीले मालपोत कार्यालय मझगावामा कोही सम्बन्धित जग्गाको कारोबार गर्न आए आफूलाई जानकारी दिन अनुरोध गर्दै ०७३ चैत्र ३ गते रोक्का निवेदनसमेत दिएकी थिइन ।

उनको निवेदन अहिले पनि मृतक जग्गाधनी कोयल धोबीको श्रेष्तामा संलग्न राखिएको छ । तर, मोटो रकम खाएका कार्यालयका कर्मचारीहरुले नामसारी निवेदनमा मोठ र रोक्काको ब्यहोरा नै नजनाई जग्गा नामसारी गर्न खोजेका थिए । पीडित झिनकी अहिले आफ्नो नागरिकता बोकेर न्यायको लागि याचना गर्दै हिँडिरहेकी छिन् । उक्त जग्गा नामसारीको सिफारिस गर्दै तत्कालीन वडा सचिवले मृतक कोयलको विवाह नै नभएको र हक खाने २ जना भाइ मात्र भएको भन्दै सरासर गलत सिफारिस गरेको उनको भनाइ छ ।

सम्मरीमाई गाउँपालिका-७ को गत वैशाख १५ गतेको चलानी नम्बर ३९ को पत्रअनुसार पनि झिन्कीको गुनासो पुष्टि हुन्छ । वडा कार्यालयले निवेदकहरुको नजिकको व्यक्ति राखी सर्जमिन गरेर मृतकको विवाह नै नभएको विषयको मुचुल्का उठाएको छ । वडा सचिव पूर्णप्रसाद अर्यालले आफू र कार्यालय सहायक राधेश्याम कुर्मी सहितले सम्बन्धित गाउँमा सर्जमिन बुझेर मात्र सिफारिस दिएको भन्दै उम्किने प्रयास गरे । उनले गाउँलेहरूले मृतकको विवाह नै नभएको कुरा बताएको र आफूले सोही अनुसारको सिफारिस दिएको दाबी गरे ।

यसरी आएको सिफारिसको आधारमा मालपोत कार्यालयले नामसारीको प्रक्रिया अगाडी बढाएको थियो । कार्यालयले स्थानीय पत्रिकामा ३५ दिने सूचना जारी गरी गत ६ भदौ मङ्गलवार नामसारी गर्ने पूर्ण तयारी गरेको थियो । पहिला निवेदन लेख्ने लेखापढी व्यवसायी र पछि निवेदन लेख्ने ब्यवसायीवीच निवेदन लेखेको विषयमा विवाद भएपछि मात्र यो घटना बाहिर आएको हो । हकवालाले जग्गा रोक्का राख्दा राख्दै मालपोत कार्यालयले नामसारी प्रक्रिया अगाडी बढाउनुले नै अनियमितताको छनक रहेको नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएसन जिल्ला समन्वय समितिका अध्यक्ष सीताराम यादवको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *