चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू


असार १, चितवन ।नेपाल सरकारले गरिब तथा विपन्न वर्गका जनतालाई सुर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिनका लागि ल्याएको सामाजिक स्वास्थ्य सुरक्षा कार्याक्रम चितवनमा सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारले चालु आर्थिक वर्षमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने नीति लिएसंगै दोस्रो चरणमा चितवनमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको हो ।
पहिलो चरणमा जिल्लाका १ सय ३५ दर्ता सहयोगी मार्फत सदस्यता दर्ता गराउने कार्य भइरहेको  बताइएको छ । ‘स्वास्थ्य बिमा’ कार्यक्रमको सदस्य बन्नकालागी ५ जना सदस्य बराबरको एक परिवारले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ भने, उक्त बिमा वार्षिक रूपमा नबिकरण गर्नुपर्ने व्यवस्था छ । कार्यक्रम सुरु भएपश्चात ५ जना सदस्य बराबरको एक परिवारले वार्षिक ५० हजार रुपैयाँ सम्मको सेवा सुविधा पाउने बताइएको छ । बिमा गरेपछि परिवारले औषधी, प्रयोगशाला, शल्यक्रिया लगाएतका सेवाहरू पाउनेछन् ।

‘स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन्’

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, खैरहनी, जुटपानी र शिबनगरका स्वास्थ्य केन्द्रबाट सेवा पाउन सकिने छ । त्यस्तै क्यान्सर अस्पताल कृष्णपुर र भरतपुर आँखा अस्पतालबाट भने रिफरल सेन्टरको रूपमा सेवा पाउने व्यवस्था मिलाईएको सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम चितवनकी प्रबन्धक सिर्जना पौडेलले बताइन् ।
उनले स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका सञ्चालन गरिएको बताइन् । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा स्थापित गरिसकेकोले त्यो हकलाई प्रत्याभूत गर्न स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चितवनमा कार्यक्रम सुरु भए पनि यहाँका सेवाग्राहीहरुले आगामी भदौ १ गतेबाट मात्रै सेवा पाउने छन् ।
स्वास्थ्य बिमा कार्यक्रमका अवसरमा बोल्दै सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर भुवन पौडेलले कार्यक्रम नेपालका ८ जिल्लामा लागु भइसकेको भन्दै चालु आर्थिक वर्षमा १५ जिल्लामा पु¥याउने लक्ष्य लिएको बताए । हालसम्ममा ८४ हजार सर्वसाधारण स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएको डा. पौडेलको भनाई थियो ।
कार्यक्रममा सासंदहरु कृष्णभक्त्त पोखरेल, रामकृष्ण घिमिरे, बिष्णुमाया परियार लगाएतले बोलेका थिए ।

के हो स्वास्थ्य बिमा ?

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सरकारी स्वास्थ्य संस्थाबाट एक वर्षभरि ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष स्वास्थ्य बिमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनकुन रोगमा निःशुल्क उपचार सेवा ?

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, साधारण चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।
त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।

निःशुल्क उपचार नहुने सेवाहरू

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भए पनि धूम्रपान, मध्यपान वा लागू पदार्थ सेवनका कारण भएको दुर्घटना, गर्भपतन सेवा, व्यक्तिगत झैझगडाका कारण भएको चोटपटक, कृतिम गर्भधान सेवा, लिङ्ग परिवर्तन सम्बन्धी सेवा, पाँँच सय रुपैयाँ भन्दा बढी मूल्यका चस्मा, सुन्ने यन्त्र र कस्मेटिक सर्जरी सेवा उपलब्ध नहुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =