दसैँ तिहारमा बाइक किन्दा यस्तो छ उपहार

भदाै ७, काठमाडौँ । बाइक बिक्रेताहरूले चाडपर्वलार्इ लक्षित गर्दै विशेष अफरहरू ल्याउन थालेका छन् । दसैँ तिहार बाइक बिक्रीको सबैभन्दा राम्रो अवसर हो । यही अवसरलार्इ क्यास गर्न बाइकका नेपालका अधिकृत बिक्रेताले उपहार राखेर उपभोक्ता आकर्षित गर्न खोजेका हुन् । बाइक बेच्न ६ लाख रुपैयाँ नगददेखि स्कोडा र्यापिड कारसम्म उपहार योजनामा राखिएको छ ।

यामाहाको नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लुले भर्खरै बजारमा ल्याएको एफजेड स्ट्रिट फाइटर बाहेकको बाइक किन्दा सात हजार छुट दिने योजना ल्याएको छ । यामाहाले पछिल्लो समयमा युवा लक्षित बाइक ल्याइरहेको छ । एफजेड सिरिजमा यामाहाले बाइक उत्पादन थालेपछि उत्पादनमा समेत भेराइटी थपिरहेको छ ।

एफजेड- २५ स्ट्रीटफाइटर मोडल बाहेकका अन्य मोडलका बाइकमा सात हजार छुट दिने कम्पनीका सहमहाप्रवन्धक दीपक रौनियारले बताए । उनका अनुसार हरेक साता लक्की ड्रमार्फत एक लाख उपहार पनि दिइनेछ । रौनियारले लक्की ड्र मार्फत एकजनालार्इ स्कोडा र्यापिड कार दिने जानकारी समेत दिए ।

हिरो बाइकको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले दसैँ अफर योजना अनुसार हरेक बाइक किन्दा ६ हजार रुपैयाँ छुट दिने भएको छ । कम्पनीकी मिडिया कोर्डिनेटर शीतल दाहालले स्क्रयाच कुपनमार्फत एक हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार पाउने बतार्इन् । कम्पनीले खरिदकर्ताहरुले प्राप्त गर्ने गरेको एसएमएस नम्बर लक्की ड्रमार्फत प्रत्येक हप्ता एक जना ग्राहकले उपहार एक लाख रुपैयाँ पाउने बतार्इन् ।

बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैंतिहार लक्षित योजना ल्याएको छ । कम्पनीले ६ निशान योजना ल्याएको जनाउँदै यसको अर्थ ‘६ वटा लक्ष्यहरु’ रहेको जनाएको छ । कम्पनीका अनुसार अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको सानसँग आफू आबद्ध रहेको छ । बजाज बाइक चढ्नेले गौरवको महसुस गर्ने कम्पनीको दाबी छ । यो योजना अनुसार बाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्ने र स्क्र्याच कुपनको आधारमा ग्राहकले ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “कम्पनीले ग्राहकका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरू प्रस्तुत गर्न प्रतिबद्ध छ । हामीले ल्याएको योजनाबाट ग्राहक लाभान्वित बन्ने विश्वास लिएका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *