प्रकृतिको कुचीकार पंक्षी गिद्ध बर्दियाबाट हराए

बर्दिया, भदौ ७ । आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् ।

गिद्ध संकटापन्न अवस्थामा
गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध संकटापन्न अवस्थामा पाइन्छन् ।

वृक्ष विनाश
केही दशकअघि बर्दियामा प्रशस्त मात्रामा पाइने गिद्ध हिजोआज फाट्फुट मात्र देखिने गरेका छन् । आहारा प्रजातिको कमीलगायत गिद्धको बासस्थान मानिने ठूला सिमलका वृक्ष विनाश भएपछि गिद्धको संख्या जिल्लामा कमी भएको संरक्षणकर्मी बताउँछन् ।

नेपालमा नौ प्रजातिका गिद्ध पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताए । उनका अनुसार हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन् । डंगर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध, लामोठुँडे गिद्ध, अति संकटापन्न अवस्थामा रहेको उनले बताए ।

किन भए लोप ?
त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध पनि संकट उन्मुख छन् । डाइक्लोफेनेक नामक औषधि प्रयोगबाट मृत्यु भएका पशुलाई गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने तथा प्रजनन क्षमता ह्रास हुने हुँँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा एक हजार २०० जोडीमात्र भेटिएका थिए । अहिले नेपालका करिब ६४ जिल्लामा डाइक्लोफेनेक मुक्त घोषणा भइसकेपछि गिद्धको संख्या १२ हजारको हाराहारीमा पुगेको शाहीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *