मेस्सी बार्सिलोनासँग रुष्ट, सिटी कीर्तिमानी रकम तिर्न तयार


“
एजेन्सी । विश्व कीर्तिमानी रकममा पीएसजी गएका नेमारलाई क्लबमै राख्न असफल भएपछि मेस्सी क्लब सञ्चालकहरुसँग रुष्ट बनेको र बार्सिलोनामा आफ्नो भविष्यका विषयमा गम्भीर रूपमा सोच विचार गरिरहेको समाचार आइरहेका बेला म्यानचेस्टर सिटीका अधिकारीहरूले मेस्सीका प्रतिनिधिसँग भेट गरेका समाचार बाहिरिए पछि बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ ।
क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको हो । सिटीका प्रशिक्षक तथा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप गार्डिवालाले पनि मेस्सीले बार्सिलोना छाड्ने सक्ने सम्भावनालाई नकारेका छैनन् । भने, मेस्सीले समेत क्लबसँग मौखिम रूपमा चार वर्ष सम्झौता थप्ने सहमति जनाएता पनि लिखित रूपमा सम्झौतामा हस्ताक्षर नगरेकाले स्पेनिस सन्चार माध्यममा यस्तो खबर छाएको छ ।
घरेलु मैदानमा उत्कृष्ट खेल पस्केपछि प्रतिक्रिया दिँदै नेमारले बार्सिलोनाका क्लब सञ्चालकहरुसँग राम्रो सम्बन्ध नरहेका कारण आफूले बार्सिलोनाको यात्रामा पूर्णविराम लगाउनुपरेको बताएपछि बार्सिलोनाका खेलाडीहरु क्लब सञ्चालकहरुसँग रुष्ट रहेको पुष्टि हुन्छ । यही सिलसिलामा म्यानचेस्टर सिटीले मेस्सीका लागि कीर्तिमानी अफर गरेपछि उनी बार्सिलोनामा रहने या नरहने भन्ने विषयमा चर्चा चुलिएको हो ।
सिटीका अधिकारीहरूले उनको रिलिज क्लज २ सय ७५ मिलियन पाउण्ड तिर्न तयार रहेको बताउँदै मेस्सीका प्रतिनिधिहरुसँग बार्सिलोनामा भेट गरेका थिए । भेटका क्रममा दुवै पक्षबीच मेस्सीले बार्सिलोना छाड्ने कुनै सोच बनाएको भए आफूहरू भित्र्याउन आतुर रहेको सिटीको प्रतिक्रिया रहेको समाचार माध्यमहरुले जनाएका छन् ।
सोमबार राती एभर्टनसँग बराबरी खेलेपछि सिटीका प्रशिक्षक तथा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप गार्डिवालाले पनि मेस्सीले बार्सिलोना छाड्ने सक्ने सम्भावनालाई नकारेका छैनन् । ‘यदि कसैले नेमारलाई १ सय ९८ मिलियन पाउण्ड कीर्तिमानी रकम तिर्नसक्छ भने मेस्सीका लागि त्यो भन्दा बढी तिर्न जोकोही तयार हुनेछ,’ उनले भने, ‘त्यो जो कोही पनि हुनसक्छ ।’
यस सिजनको सरुवा बजार बन्द हुन एक हप्ता मात्रै बाँकींरहँदा यदि मेस्सी बार्सिलोनाबाट बाहिरिन चाहेमा म्यानचेस्टर सिटी लगायतका केही क्लबले मात्रै उनको रिलिज क्लजको रकम तिर्न सक्नेछन् । यदि २ सय ७५ मिलियन पाउण्डमा मेस्सी सिटी गए उनी विश्वकै महंगा खेलाडी बन्नेछन् । यसअघि पीएसजीले नेमारलाई बार्सिलोनाबाट १ सय ९८ मिलियन पाउण्डमा अनुबन्ध गर्दै विश्वको महँगो खेलाडी बनाएको थियो ।
नेमारलाई क्लबले आफैँसँग राख्ने वातावरण बनाउन नसकेको प्रति रुष्ट रहेका मेस्सी क्लबको पछिल्लो प्रदर्शनले पनि निराश देखिन्छन् । लालिगा अन्तर्गत आइतबार राती रियल बेटिससँगको खेलमा तीन पटक उनले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
त्यसअघि गतहप्ता स्पेनिस सुपर लिगमा रियल मड्रिडसँग बार्सिलोना समग्रमा ५–१ ले पराजित भएपछि मेस्सी निकै निराश बनेको समाचार माध्यमले जनाएका छन् । १२ वर्षको उमेरदेखि बार्सिलोनासँग आबद्ध भएका मेस्सी पाँच पटकका बालेन डी ओर का विजेता हुन् । उनी लालिगाका कीर्तिमानी गोल स्कोरर पनि हुन् । समग्रमा पाँच सय ८६ खेलमा मेस्सीले पाँच सय ८ गोल गरेका छन् ।
“
