करेन्ट लागेर मृत्यु भएको थाहा छ तर ‘सत्य डाटा’ नआएसम्म क्षति पूर्ति दिन मिल्दैन
“
लोक राज रुम्दाली
काठमाडौँ, भदौँ ५ । साउन २६ गते बिहीबार पोखरा लेखनाथका २० वर्षीय विष्णु सिवाकोटी रानीपौवा सडक खण्डमा मोटसाइकल गुडाइरहेका थिए,एक्कासि खम्बाको बिजुलीको तार चुडेर करेण्ट लाग्यो । तर, धन्न बाँच्न सफल भए । त्यसपछि उनलाई उपचारका लागि काठमाण्डौँ ल्याइयो ।
त्यस्तै,साउन १८ गते सोमबार ट्रिपर चालक नवराज माझीले लाजिम्पाटको सडकमा करेन्ट लागेर ज्यान गुमाउनुपर्यो । प्रहरी वृत्त महाराजगन्जका डीएसपी गोविन्द पुरीका अनुसार सडक मर्मतका लागि माटो खन्याउने क्रममा अचानक बिजुलीको तार छुँदा चालकलाई करेन्ट लागेको बताइन्छ । करेन्ट लागेसँगै अचेत अवस्थामा रहेका माझीलाई शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइयो तर उपचारकै क्रममा उननको निधन भयो ।
यी माथिका दुई घटनाहरू हेर्दा अकालमै मानिसले ज्यान गुमाउनु परेको देखिन्छ । हामी जो सुकै उनीहरुझै जुनैबेला सडकमा अव्यवस्थित नाङगो तारको सिकार बन्न पुग्ने प्रष्टिन्छ । लेखनाथका २० वर्षीय विष्णु र नवराजमात्रै यसको सिकार भएनन् । भक्तपुरमा ठिमीमा बाटो हिँड्दै गरेका एक जना युवक पनि नाङगो तार टेक्दा करेन्ट लागेर अचेत हुन पुगे भने भारतीय दूतावास,लैनचैर सडक खण्डमा मोटरसाइकल गुडाउँदै गरेका एक जना युवकको टाउँकोमा तार चुडेर लागेपछि बेहोस भए । उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ । सरकारी बेवास्ता कारण त्यस्तो घट्ना केही कारण घटे आंशिक र पूर्ण क्षति गरेर दुई तहमा विभाजन गरेर क्षति पूर्ति दिइने व्यवस्था रहेको नेपाल विद्युत् प्राधिकरणका जनसम्पर्क विभागका प्रमुख भरत कुमार खड्का बताउँछन् । तर, यो वर्ष करेन्ट लागेर कतिले ज्यान गुमाए भन्ने प्रश्न उनी अनुत्तरित भए । ‘अहिलेसम्म क्षेत्रीय कार्यालयबाट सबै रिपार्ट आइसकेको छैन । हामीले रिपोर्टकै आधारमा क्षतिपूर्ति वितरण गर्ने हो ।’ उनले भने ।
राजनधानीमा मेलम्ची खानेपानी बिछ्याउन सडक खण्ड निर्माण कार्यसँगै यस्ता घटनाहरू घटिरहेको खड्काको दाबी छ । उनी भन्छन्,‘यो जिम्मेवारी हामै्र हो । हामीले यसका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ । सडकमा अव्यवस्थित भएका तारहरु जोड्न कर्मचारीहरू खटिरहनु भएको छ ।’
नेपाल विद्युत् प्राधिकरणले हेलचेक्र्याइ गरेर यस्तो काम भएको छ भने करेन्ट लागेर वा तार चुडिएर गम्भीर घाइते भएका जो कोही सर्वसाधरणले क्षति पूर्ति पाउँछन् तर घरमा रहँदा वा बाहिर छँदा व्यक्तिगत कारण करेन्ट लागेको देखाएमा सरकारबाट क्षतिपूर्ति पाउँने छैनन् भने प्राधिकरणको कर्मचारीले तार जडान वा यससँग सम्बन्धित रहेर काम गर्ने सिलसिलामा ज्यान गुमाउँनुपर्यो भने पाँच लाख रुपैयाँ क्षति पूर्ति पाउने उनले बताए । त्यस्तै, सर्वसाधारणको हकमा भने आँशिक र पूर्ण क्षति पाउँनेछन् । सडकमा हिँड्दा अव्यवस्थित तारका कारण मृत्यु भएकाहरुले पाँच लाख र घाइते भएकाहरुले उपचार खर्च पाउँनेसमेत उनले प्रस्ट पारे ।
विष्णु र नवराजले कति क्षतिपूर्ति पाए ?
करेन्ट लागेर वा तार चुडिएर घाइते भएकाहरुले उपचार खर्च पाउनुपर्ने भए पनि उनीहरूका लागि अहिलेसम्म पूर्ण वा आंशिक उपचार खर्च उपलब्ध गराइएको छैन । नियमबमोजिम पाँच लाख र घाइतेले उपचार खर्च पाउनुपर्ने भए पनि अहिलेसम्म उनीहरूलाई सरकारले क्षति पूर्ति दिएको छैन । क्षति पूर्ति लगायतका जिम्मा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले गर्ने गर्दछ ।
हाल बढुवा भई प्राधिकरणको वितरण तथा ग्राहक सेवामा आएका सह–निर्देशक बलराम अधिकारीले आफूले यो सबै घटनाहरूको यकिन विवरण प्राप्त गरी नसकेको बताए ।‘मैले यो घटना सुनेको हु । उनीहरूले क्षति पूर्ति पनि पाउँछन् तर सम्बन्धित निकायबाट सत्य तथ्य सबै विवरण प्राप्त भएको छैन । हामीसँग भन्दा पनि यो सबै जानकारी प्राविधिक निकायसँग हुन्छ ।’ त्यो सत्य तथ्य विवरण प्राप्त भएसँगै उनीहरूले क्षति पूर्ति पाउँने उनले बताए । सोमबार ऊर्जा मन्त्रालयको बैंठकमा उपस्थित हुनुपर्ने भएकोले विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमा घिसिङसहित केही कर्मचारी त्यता गएका थिए भने प्रवक्ता प्रबल खड्का केही दिन देखि छुट्टीमा रहेको एक कर्मचारीले जानकारी गराए । अधिकारीका अनुसार क्षति पूर्ति लगायत समग्र विषयहरू विद्युत् तथा वितरण विनियमावलीमा समावेश भएको हुन्छ ।
“