संविधान संसोधन विधेयक संसदमा निर्णयार्थ पेश हुँदै, पारित हुने सम्भावना कम

काठमाडौं, भदौ ५ । सरकारले आज व्यवस्थापिका संसदमा संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्दैछ । सरकारले पेश गरेपछि मतदान प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने देखिएको छ ।

संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका मधेस केन्द्रित दलहरूको माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो । विधेयकमाथि संशोधन दर्ता गराउनेसहितका सांसदहरूले हिजो दोस्रो दिनको दफावार छलफलमा भाग लिए ।

विधेयक माथिको दफावार छलफल बाँकी रहेको र त्यसमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेस गर्न लामै समय लाग्नेछ । प्रधानमन्त्री निर्वाचनमा सत्ता गठबन्धनतिर उभिएको राप्रपाले अहिले संशोधन विधेयकको विपक्षमा मत दिने औपचारिक निर्णय लिइसकेको छ । संसदमा सत्तारूढ कांग्रेसको २०७, माओवादीको ८२, राजपाको २५, लोकतान्त्रिक फोरमको १६ र संघीय समाजवादी फोरमको १५ सिट छ भने सदनमा एक÷दुई सिट मात्रै भएका केही साना दल पनि संविधान संशोधनको पक्षमा छन् ।

संशोधनको विपक्षमा प्रमुख प्रतिपक्षी एमालेका १८०, नेकपा (माले) का ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र एक÷एक सिट रहेका मधेस समता पार्टी, नेपा पार्टी र बहुजन समाजवादी पार्टीका गरी १ सय ९७ सांसद छन् । सभामुख र निलम्बनमा रहेका एक सांसदले मतदान गर्न नपाउने भएकाले यो विपक्षी गठबन्धन नटुटदासम्म अन्य पक्षमा केही तलमाथि भए पनि संविधान संशोधन विधेयक पारित गर्न आवश्यक संख्या पुग्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *