प्रलयकारी बाढीबाट दक्षिण एसिया जलमग्न

एजेन्सी । मनसुनसँगको वर्षा र बाढीले दक्षिण एसियामा डेढ करोडभन्दा बढी नागरिक प्रभावित भएका छन् । बाढीका कारण रोग, भोक र डुबानबाट सयौ नागरिकको ज्यान गएको छ । अहिलेसम्म ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जसमा १४० बढी नेपाल र २३९ जना भारतीय छन् ।

नेपाल, भारत र बंगालादेश यी तीन देशमा बाढीको गहिरो संकट छ । नेपालमा १४० बढी र बंगलादेशमा ३९ बढीको मृत्यु भएको छ । भारतको बिहार र असममा १६८ बढीको मृत्यु भएको छ । मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने चेतावनी दिइरहेका छन् ।

भारतले सीमा क्षेत्रमा निर्माण गरेका बाँधहरुका कारण नेपालले बाढीको ठुलो संकट सामना गरेको छ । पहाडी भुगोलका कतिपय क्षेत्रमा पहिरो गएका छन् । नेपालका एक करोड बढी नागरिक बाढी, पहिरो र डुवानबाट प्रभावित छन् । कतिपय क्षेत्रमा हेलिकोप्टरबाट खाना र पिउने पानी पुराइएको छ ।

वर्षा रोकिएसँगै नेपालको अवस्थामा केही सुधार आएको छ । अधिकारीहरुका अनुसार अब बाढीका कारण नागरिकको ज्यान गएको खबर आउन रोकिएको छ । उता भारतीय क्षेत्रहरु भने बाढीको चेपटामा परेका छन् । भारतको उत्तर प्रदेश र बिहारमा बढीको प्रकोप बढी छ ।

उत्तर प्रदेश र बिहार संकटमा
भारतको उत्तर प्रदेशका २०१३ बढी गाउँ बाढीले डुबाएको छ । उक्त गाउँका नागरिकहरु आफ्नो घर छाडेर उच्च भुभागमा शरण लिएर बसेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म ३६ बढीको मृत्यु भएको छ । राज्यको विपत व्यवस्थापन विभागका अनुसार १४ लाख बढी नागरिक बाढी प्रभावित छन् । राप्ती, घाघरसा र सरयु नदीमा बाढी उर्लेको छ । शारदा, रोहिन र अन्य नदीमा पनि बाढीको सतह खतराको संकेत पार गरिरहेको छ।

बिहारको अवस्था पनि उस्तै छ । बिहारमा ५ सय बढी सैनिक जवानले हजारौलाई सुरक्षित स्थानमा सारेका छन् । राज्यको १४ जिल्ला बाढी प्रभावित छ । सेनाको हेलिकोप्टरबाट खाना र चाउचाउका प्याकेट र अन्य अत्यावश्यक वस्तु झार्ने गरिएको छ । करिब ३ लाख नागरिक सुरक्षित स्थानमा शरण लिएर बसेका छन् ।


भारतकै उत्तरपूर्वी राज्य असम निरन्तर बाढीको सामना गरिरहेको छ । असमका ३ हजार गाउँमा बाढीको पानी भरिएको छ । असममा सरकारले स्थापना गरेका शिविरहरुमा २ लाख बढी नागरिकले शरण लिएका छन् । बाढीबाट बचाउन कयौ विद्यालयलाई अस्थायी शिविरमा रुपान्तरण गरिएको छ । बिहारको बाढी प्रभावित जिल्लाका विद्यालयहरुमा विदा दिइएको छ ।

नागरिकहरु आधुनिक डुंगाको सानो घरेली साधनबाट नदी पार गर्न बाध्य छन् । कयौ स्थानमा पीडितसम्म राहत पुराउन ढिला भएको छ । उनीहरु स्वयमले डुंगा बनाएर यताउता आवत जावत गरिरहेका छन् । घरबार, सरसामान सबै कुरा छाडेर बाढीबाट बच्न नागरिकहरु भागेका छन् । अहिले ज्यान मात्र प्यारो भएको छ । घर पालुवा जनावरहरु बाढीमा डुबेर मरेका छन् वा बाढीले बगाएको छ ।

सरकारहरु पीडितको खोजी, उद्धार र राहत पुराउन असफल सावित भइरहेका छन् । तैपनि कतिलाई अलग अलग शिविरमा लैजाने र पीडितको ज्यान बचाउने प्रयास भने जारी छ । बाढीले खानेकुरा र अत्यावश्यक वस्तु नभएपछि कतिपय बाढी पीडित बाढीमै माछाको शिकार गर्न बाध्य छन् । बाढीको संकटबाट घरपालुवा मात्र होइन, जंगली जनावरहरु समेत मुस्किलमा छन् । बाढीले हात्ती, गैंडासमेत बगाएको छ । नेपालको एकसिंगे गैंडा बगाएर भारत पुराएपछि फिर्ता ल्याइएको छ ।

घरभित्र पानी भरिएपछि सुत्ने ठाउँसमेत छैन । मानिसहरु पानीले घर डुबाएपछि छानामा चढेर ज्यान बचाउने कोशिस गरिरहेका छन् । भने, कतिपय स्थानमा पानी रोक्ने प्रयास गरिएको छ । बाढीले बंगलादेशमा नागरिकले हप्तौंसम्म कठिनाइ झेलेका छन् । घर पानीमा डुबेपछि जसको सहारामा बाँच्न सकिन्छ, त्यही लिएर मानिसहरु उच्च स्थानको खोजीमा निस्केका छन् ।

सरकारहरुले ठाउँठाउँमा राहत शिविर स्थापना गरेको बताए पनि पर्याप्त हुन सकेको छैन । अत्यावश्यक वस्तुमा पहुँच पुग्न सकेको छैन । सबैभन्दा बढी बालबालिका, सुत्केरी, गर्भवती महिला र वृद्धवृद्धा पीडित बनेका छन् । बाढीले दुर्गम गाउँहरु मात्र होइन, व्यवस्थित भनिएका सहरहरु पनि डुबाएको छ । सहरका घरहरुमा पनि पानी पसेको छ । यस्ता स्थानमा मानिसहरु आफ्नो पक्की घरमै बन्दी बन्ने अवस्था सिर्जना भएको छ।

बंगलादेशको करिब एक तिहाई भुभाग बाढीको चेपटमा छ । बंगलादेशका १८ वटा प्रमुख नदीमा पानीको सतह खतराको संकेत पार गरेको छ । ६ लाखभन्दा बढी नागरिक घर छाडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन् । रेडक्रस एसिया प्रशान्त क्षेत्रका निर्देशक मार्टिन फेलरका अनुसार बाढीका कारण बाढीग्रस्त क्षेत्रमा सबैभन्दा गम्भीर मानवीय संकेट देखिँदैछ । जुन कयौं वर्षपछि देखिएको हो । यो प्रलयकारी बाढीबाट प्रभावित भएका करोडौ नागरिकलाई राहत दिन चाँडै कुनै कदम चाल्नु जरुरी छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *