देउवाले बोलाएको बैठकमा केपी ओली, नेपाल र भट्टराई गएनन्

काठमाडौं, भदौ ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।’ देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।
प्रधानमन्त्री देउवा बुधबारदेखि भारतको चारदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री भ्रमणको औपचारिक घोषणा दुवै विदेश मन्त्रालयका तर्फबाट सोमबार हुनेछ । पूर्व सरकार प्रमुखहरू पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र खिलराज रेग्मीले प्रधानमन्त्रीलाई आफ्ना सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने बैठकमा गएनन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

बैठकको सुरुमा बोलेका पूर्वप्रधानमन्त्री खनालले भारतीय सीमा बाँधका कारण नेपाली भूभाग डुबानमा परेकाले यस्तो बाँधबारे समीक्षाका लागि भारतसँग कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘भारतसँगका सीमा बाँधहरू अन्तर्राष्ट्रिय ऐन-कानुनविपरीत छन् । ‘अहिले तराई भयावह अवस्थामा डुबानमा छ । यसमा प्रधानमन्त्रीले खुट्टा नकमाई भारतीय पक्षसँग कुरा राख्नुहोला’, खनालले भने ।
खनालले बैठकपछि भने, ‘असमान सन्धि-सम्झौताका कारण नेपालले जहिल्यै भारतीय पक्षको हेपाहा व्यवहार भोगिरहनुपरेको छ । असमान सन्धि-सम्झौताका विषयमा पनि नेपालले भारतीय पक्षसँग कुरा उठाउनुपर्छ । देशको राष्ट्रिय हितमा रहेर कुरा गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री दाहालले भारतसँगका पूर्वसहमति कार्यान्वयनमा भ्रमण केन्द्रित गर्न देउवालाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *