पत्रकारहरु चुनावमा होमिँदा पूर्व सचिवको यस्तो टिप्पणी

नेपाल पत्रकार महासङ्घ २५ औँ महाधिवेशन भोलीबाट राजधानीमा सुरु हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा धेरैले नयाँ नेतृत्वका सम्भावना, चुनौतीका विषयमा विभिन्न सञ्चार माध्यमदेखि सामाजिक संञ्जालमा समेत आफ्ना धारणा राखेका छन् । यस्तै धराणा राख्ने मध्ये महासङ्घका पूर्व सचिव जगत नेपाल पनि एक हुन् । जगत नेपालको यो भनाइलाई हामीले फेसबुकबाट साभार गरेका हौँ । 

आदरणीय साथीहरू नमस्कार

नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनमा भाग लिन आउनु भएका साथीहरूमा हार्दिक नमस्कार ।

चुनावी प्रतिस्पर्धामा रहनु भएका साथीहरूमा विजयको शुभकामना । यति बेला माहौल चुनावमय छ । उम्मेद्वारहरु आश्वासन वाड्न व्यस्त छन् । तर तमाम व्यावसायिक पत्रकारहरुमा महासङ्घको भविष्य के हुने ? यो पत्रकारहरुको संस्था हुन्छ वा विभिन्न पेसा व्यवसायमा संलग्नहरुको भन्ने चिन्ता छ ।

केही समय अघि शाखा अधिवेशन जारी रहदा धेरै साथीहरूले मसँग भन्नु भएको थियो ‘अव त म सदस्यता नवीकरण गर्दिन । महासङ्घमा पत्रकार भन्दा गैरपत्रकार हाबी हुँदै छन् । पत्रकारका व्यावसायिक मुद्दा भन्दा राजनीतिक दल र तीनका नेताहरूको एजेण्डाले प्राथमिकता पाउन थालेको छ । चुनाव पत्रकारको हुन्छ, दलहरू प्रतिस्पर्धामा उत्रिन्छन् । यस्तो महासङ्घमा बस्नु नबस्नुको के अर्थ ।’

खास गरी राजधानीका प्रमुख सञ्चार माध्यममा काम गर्ने स्थापित पत्रकारहरुको यस्तो चासो थियो । त्यति वेलै उहाहरुसग मैले भनेको थिए ‘साथीहरू हो । हाम्रो संस्थाका कमी कमजोरी हटाउन भित्रै बसेर सङ्घर्ष गर्नुको विकल्प छैन । सदस्यता नवीकरण गर्नुस् मिलेर सुधार लागि लडौंला । धेरैले नवीकरण गर्नुभयो, कतिले गर्नुभएन ।’

म आफै केन्द्रीय समितिमा सदस्य र सचिवको हैसियतमा छ वर्ष बसेको छु । अघिल्लो चुनावमा महासचिवमा पराजित भए पनि यसको काम र क्रियाकलापलाई नजिकबाट नियाली रहेकोछु । यो कटुसत्य महाधिवेशनको बेला नभनेर कहिले भन्ने ? मैले नभने कसले भन्ने ? मेरो अनुभवका आधारमा भन्दै छु । महासङ्घ नेतृत्वको प्रमुख प्राथमिकता भनेकै गैरपत्रकारलाई कसरी सदस्यता दिने र व्यावसायिक पत्रकारलाई सकेसम्म केन्द्रीय सभासद् हुनवाट कसरी रोक्ने भन्ने मै केन्द्रित हुने गरेको छ ।

पत्रकारहरुको सामाजिक सुरक्षा र क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रताका मुद्दा क्रमशः ओझेलमा पर्दै गएका छन् ।
अब हामीले पत्रकार महासङ्घलाई कस्तो संस्था बनाउने, कसको पक्षमा काम गर्ने संस्था बनाउने, यसका प्राथमिकता के हुने भन्ने विषयमा गम्भीर बहस गर्नु जरुरी छ भन्ने मलाई लाग्छ । केही मुद्दा र समाधानका उपाय बहसका लागि राख्दैछु ।

प्रश्न नं. १

महासङ्घको मूल उद्देश्य प्रेस स्वतन्त्रताको पक्षमा लबिङ गर्ने नै हो । त्यसपछि श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षा, सेवा सुविधाका बारेमा सरकार र सम्बन्धित पक्षस“ग पत्रकारहरुको पक्षमा लविङ गर्नु नै हो । यसका अतिरिक्त महासङ्घले व्यावसायिक पत्रकारिताको विकासका लागि पत्रकाहरुको क्षमता अभिवृद्धिका पक्षमा काम गर्न सक्नु पर्छ ।

प्रश्न नं. २

पछिल्ला समय महासङ्घप्रति यसका सदस्यहरूको विश्वसनीयतामा निरन्तर ह्रास आइरहेको छ । अहिलेकै प्रवृत्ति कायम रहेमा प्रतिस्पर्धामा रहेका जुनसुकै टिमले जिते पनि भविष्यमा ह्रास हुँदै जाने खतरा छ ।
यसको मुख्य कारण व्यावसायिक र पेशागत मुद्दा भन्दा चुनावी राजनीतिको अङ्क गणित सधैँ प्राथमिकतामा पर्नु नै हो ।

प्रश्न नं. ३

श्रमजीवी पत्रकारको पक्षमा काम गर्नुपर्ने महासङ्घमा सम्पादक र सिनियर पत्रकारहरुको स्थान करिब करिब नभएको अवस्था छ । महासङ्घमा उनीहरूको अपनत्व बढाउने कामलाई प्राथमिकता दिनु भन्दा भोटको राजनीतिक प्रतिस्पर्धाका आधारमा कार्यकर्तालाई स्थान दिने प्रवृत्ति हाबी हुँदै गएको छ ।

प्रश्न नं. ४

पत्रकारिता आफै सत्य, तथ्य र विश्वसनीयताको सिद्धान्तमा अडेको पेसा हो । यस्तो पेसामा आबद्ध संस्थाको नेतृत्वमा पुग्न राजनीतिक दल र नेता, त्यसमा पनि गुटको आशीर्वाद पहिलो अनिवार्य सर्त बनिसकेको छ ।

यसरी हुनसक्छ सुधार

पत्रकार महासङ्घ हाम्रो संस्था हो । यसका कमीकमजोरी सुधार्ने जिम्मेवारी पनि हामीले नै लिनु पर्छ । अनि त्यसका पक्षमा आवाज उठाउने उपयुक्त समय अहिले नै हो ।

पहिलो प्राथमिकता

महासङ्घ श्रमजीवी पत्रकारको संस्था हो वा अरूका लागि काम गर्ने संस्था भनेर हाम्रै साथीहरूमा व्याप्त आशंका निराकरण गर्ने कामलाई पहिलो प्राथमिकता राख्न जरुरी छ ।

दोस्रो प्राथमिकता

प्रत्यक्ष निर्वाचनमा जाने भनी साधारण सभाले गरेको निर्णय सदस्यहरुका बिचमा छलफल र बहस नै नगराई उल्टाईनु र महासङ्घ चलाउने मुख्य आधार दलीय भागवण्डा बनाइनुले आशंका बढेको छ ।
श्रमजीवी पत्रकारहरुको हितमा काम गर्ने संस्था भएकाले विभिन्न पेसा र व्यवसायका साथीहरूलाई सम्मानका साथ उनीहरूकै पेसमा पठाई वास्तविक पत्रकारलाई मात्र सदस्यता दिने व्यवस्था गर्नुपर्छ अनि प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्छ ।

तेस्रो प्राथमिकता

हाम्रो जस्तै डाक्टर, वकिल, शिक्षक, प्राध्यापक, इन्जिनीयरहरुको पनि छाता संस्था छ । यी मध्ये कुनै पनि संस्थामा सदस्यता विवाद छैन । त्यसैले सदस्यता वितरण गर्ने जिम्मेवारी महासङ्घ बाहेकको छुट्टै संस्थालाई दिने की ? उदाहरणका लागि वारको वार काउन्सिल, डाक्टरको मेडिकल काउन्सिल र इञ्जिनीयरको इञ्जिनीयर काउन्सिलले सदस्यता दिने गर्छन् ।

चौथो प्राथमिकता

आश्चर्यको कुरा के छ भने पत्रकारहरुले नै चुनावका बेला पुरा गर्न नसक्ने फोस्रा आश्वासन बाड्ने गरेको पाइन्छ । मेरो अनुभवले भन्छ निर्वाचित हुँदा सबै काम गर्छु भन्ने जोसका साथ कार्यसमितिमा पुग्ने क्रियाशील पत्रकार साथी कार्यकाल पुरा गर्दा केही पनि गर्न नसकिने रहेछ भनेर फर्किने गरेका छन् ।
आम पत्रकारले चुनेर पठाएको नेतृत्वले निरीह भएर कार्यकाल पुरा गर्नुपर्ने बाध्यताको कारण के हो ? त्यसको पहिचान गरी महासङ्घलाई सबै पत्रकारहरुको आस्थाको केन्द्र बनाउने विषयमा समेत बहस गर्न र यसलाई सबै श्रमजीवी पत्रकारको आस्थाको केन्द्र बनाउन तपाईँको ठाउँवाट पहल गर्नु हुने छ ।

जगत नेपाल
तपाईँको साथी,
पूर्व सचिव, नेपाल पत्रकार महासङ्घ

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *