गोविन्द केसीका बारेमा सरकारले द्धैध चरित्र देखाएको एमालेको आरोप

काठमाडौं, साउन २७ । नेकपा एमालेले अनसनरत डाक्टर गोविन्द केसीका बारेमा सरकारले द्धैध चरित्र देखाएको आरोप लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले अनसनरत डा. गोविन्द केसीका मागबारे सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको भन्दै आपत्ति समेत जनाएको छ ।
बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराइले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्राध्यापक केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउँदै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ एमाले नेतृत्वको सरकारले नै टेबुल गरेको र प्रतिपक्षमा भएको बेला पनि विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गरेको बताउनुभयो ।
सरकारले आफ्नो दायित्व पूरा नगर्ने र नेकपा एमालेलाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति बैठकले गम्भीर असहमति व्यक्त गरेको उहाँले बताउनुभयो । बैठकले तीन जिल्लामा जिल्ला समन्वय परिषद्को प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम पनि टुङग्याएको छ । जसअनुसार भोजपुरमा लक्ष्मण खड्का प्रमुख, उदयपुरमा खड्ग परियार प्रमुख तथा गंगा राई उपप्रमुख र झापामा सोमनाथ पुर्तेल प्रमुख तथा मीना पराजुली उपप्रमुखको उम्मेदवार बनाएको छ ।








