नेइमारको ठाउँमा मेस्सीले यी चार खेलाडी माग गरे

एजेन्सी । स्तार खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि केही दबाबमा देखिएको स्पेनिस क्लब बार्सिलोना नेइमारको ठाउँ लिन सक्ने खेलाडीको खोजीमा छ । स्पेनिस सुपर कपमा रियल मड्रिडसँग समग्रमा ५–१ गोल अन्तरको हार व्यहोरेपछि बार्सिलोनामा नेइमारको अभावबारे फुटबल विश्लेषकहरुले बहस गर्न थालेका छन् । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले पनि नेइमारको ठाउँ लिन सक्ने खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग कुरा गरेको स्पेनिस सञ्चार माध्यममा खबर छ ।

मेस्सीले नेइमारको ठाउँ लिनसक्ने ४ खेलाडीबारे प्रशिक्षकसँग कुरा गरेका हुन् । नेइमारको ठाउँ लिने खेलाडीको सूचिमा बार्सिलोनाको पहिलो रोजाइमा परेका खेलाडी ओस्माना डेम्बेललाई क्लब भित्र्याउन मेस्सी इच्छुक देखिएका थिए । डेम्बेल बुनडेसलिगामै रहने देखिएपछि मेस्सीले अरू तीन खेलाडीको नाम बारे पनि प्रशिक्षकसँग कुरा गरेका छन् ।

पाउलो डिबाला, एन्जेल डी मारिया, एन्टोनी ग्रिजम्यानबारे मेस्सीले प्रशिक्षकसँग कुरा गरेका हुन् । तर, इटालियन क्लब युभेन्टस डिबालालाई क्लबमै राख्ने पक्षमा रहेको इटालियन पत्रिका कोरियारे डेल्लोले दाबी गरेको छ ।

गएको सिजन युभेन्टसलाई लगातार छैटौँ पटक सिरी ए को उपाधि दिलाउने क्रममा डिबालाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सँगै खेल्ने डिबाला बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीको रोजाइका खेलाडी हुन् ।

बार्सिलोनाले नेइमारको ठाउँमा लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन चाहेको पनि खबर आइरहेको थियो । यस्तै, केलियन एमबापे पनि बार्सिलोनाको रोजाइमा पर्ने खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *