‘नयाँ क्षेप्यास्त्र अमेरिकाको जुनसुकै ठाउँमा पुग्नसक्छ’

बीबीसी । एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ ।
‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो सङ्केत दिएको विज्ञहरुले बताएका छन् । दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एसिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबाबबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको ठानिएको छ ।

विगतमा प्योङयाङले ‘आगो र क्रोध’को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ,” भनेका छन् ।पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ । राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरू बताउँछन् । उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झन्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो ।
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रहारको एउटा सैन्य अभ्यास गरेर आफ्नोतर्फबाट प्रतिक्रिया जनाएको थियो ।
तत्कालै अमेरिकी अधिकारीहरूले अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र प्रयोग गरिएको टिप्पणी गरेको थियो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उक्त क्षेप्यास्त्र विगतका उत्तर कोरियाली क्षेप्यास्त्रहरुमध्ये सबैभन्दा बढी उचाइ अर्थात् ४,५०० किलोमिटर माथि पुगेको जनाए ।








