‘ममताले भरिएका यस्ता आमाहरुलाई बेवास्ता गर्ने कस्ता सन्नति !’


बेलुकीको खाना खाएर ओछ्यानमा पल्टिएका ‘आमाघर’का आमाहरू सविनाको वर्थडे सेलिब्रेट गर्ने भनेपछि ज¥याक जुरुक्क उठ्दै आए ।
राम्ररी हिँडडुल गर्न नसक्ने, आँखाको ज्योति मुधर भएका, हिउँसरी सेताम्मे फुलेका केश लिएरका, इतिहासका धरोहर ती आमाहरू सविनाका वरिपरि भुम्मिए । सविनाले मैनबत्ति बालेर केक काटिरहँदा ‘ह्याप्पी बर्थ डे टु यु, ह्याप्पी बर्थ डे टु यु, ह्याप्पी बर्थ डे टु यु, डियर सविना ह्याप्पी बर्थ डे टु यु…’ भन्दै एक स्वरमा उनको ‘२० औँ वर्थ डे’ सेलिब्रेट गरे ।
धेरैले सविनाको टाउकामा हात राखेर ‘नानीको प्रगति होस्, उन्नति होस्, सधैँ हासिरहनु है’ भन्दै आर्शिवाद् दिँदा सविनाका गाजलु आँखा अनायासै रसाए । गला अबरुद्ध भए । उनी एक क्षण भावुक भइन् । ‘ममताले भरिएका यस्ता आमाहरुलाई बेवास्ता गर्ने कस्ता सन्नति !’

मङ्गलवार मोडल सविना क्षेत्रीले आफ्नो जन्मदिनलाई फरक किसिमले मनाउँदाको दृश्य हो यो । अरू बेला पार्टी र ¥याम्पमा हिँडिरहने सविनाले आफ्नो २० औँ जन्म दिन कालिमाटी स्थित आमा घरमा मनाईन् । आमाहरू सँगै ‘वर्थडे केक’ काटिन्, सबैभन्दा पहिला आमाघरकी सञ्चालिका दिलसोभा श्रेष्ठलाई खुवाई दिइन् । त्यसपछि त्यहाँ आश्रित ३० जना आमाहरुलाई पनि आफ्नै हातले केक खुवाई दिइन् । यतिमात्र हैन, ती आमाहरुलाई उपहार स्वरूप हर्लिक्स, विस्कुट र भुजिया समेत वितरण गरिन् । दुई घण्टाको बसाइमा जीवनको उत्तराद्र्धमा आफ्ना घरपरिवारबाट टाढा रहेका आमाहरुबाट सविनाले धेरै कुरा सिकिन् । ‘यस्ता मायाका खानीहरुलाई घरपरिवारले कसरी विर्सिन सकेका होलान् ?’ उनले भनिन् ।

चितवन स्थायी घर भएकी सविना काठमाडौँमा एक्लै बस्दा उनलाई आफ्नू घरकी हजुरआमा, आमाबुबाहरुको असाध्यै याद आउँछ । उनी दिनको दुई चार पटक घरमा आमाहरुसँग कुरा नगरी बस्न सक्दिनन् । ‘दिनभरि यताउतिको कामले विर्सिएपनि बेलुकी र रातमा परिवारसँग कुरा नगरी बस्न सक्दिन, तर, यी आमाहरुलाई घरपरिवारले कसरी विर्सन सकेका होलान् ?’ उनले प्रश्न गरिन् ।
सविना आमाघरमा ती परिवार र समाजबाट तिरस्कृत भएका आमाहरुका दुखः सुन्न गएकी थिएनन्, केही छिन आमाहरुलाई खुसी बनाउन सकिन्छ की भन्ने उनको उद्देश्य थियो । बेलुकी करिब ७ बजेतिर आमाघर पुग्ने बित्तिकै आमाघरकी मूल बज्जै अर्थात् सञ्चालिका दिलसोभा श्रेष्ठले पनि ‘दुखःका कुरा नगर्ने वर्थडे सेलिब्रेट गर्ने’ भनिन् । त्यसैले त्यहाँ कसैले दुखःका कुरा गरेनन् । सुख दुखः जीवनभर नै आउँछ । यी आमाहरू पनि दुखः पाएर यहाँ आए, कतिलाई दिलसोभाले नै पिठ्यूमा बोकेर ल्याइन्, त्यसैले उनी सकभर आमाभरमा आमाहरुसँग दुखःका कुरा गर्न चाहन्नन् । ‘वितेका दुखः सम्झाएर आमाहरुलाई अझ दुखित बनाउन चाहन्न । बरु यस्तै जन्मदिन, चाडपर्वमा खुसी साटासाट गर्छौ । सविनाको यो सहयोगले हामीलाई अर्को सहयोगी हात थपिएको महसुस भएको छ ।’ चारैतिर भित्ताभरी प्रमाणपत्रै प्रमाणपत्रले घेरिएको कोठामा बस्दै दिलसोभा श्रेष्ठले भनिन् ।

सविनाले अहिलेको समाज र मानिसहरू एक्लिँदै गएको भन्दै यसले समाजमा विखण्डन ल्याउन सक्ने समेत बताइन् । ‘हाम्रो समाज बहुल परिवारबाट एक्लिँदै गएको छ, बृद्धबृद्धाहरुलाई संरक्षण नगर्ने संस्कारको विकास हुँदै जाँदा भोलि समाजमा ठुलो समस्या आउँछ । हामी युवाहरूले यो विषयमा सोच्ने बेला आएको छ ।’ उनले भनिन् । त्यसैले सविनाले आफ्नो जन्मदिनको अवसर पारेर आमाघरका ३० जना आमाहरुसँग बसेर केक काटिन्, उहाँहरूलाई हर्लिक्स, विस्कुट अनि भुजियाहरु वितरण गरिन् । ‘म पनि स्र्टगल गर्दै गरेकी हुँ, धेरै ठुलो सहयोग गर्न नसकेपनि यसो खाजा लिएर आएकी छु ।’ सविनाले दिलसोभा श्रेष्ठलाई यसो भनिरहँदा उनले भनिन् ‘सहयोग ठुलो सानो जस्तो भए पनि सविनाको मन ठुलो रहेछ । मलाई पनि मेरो साथमा धेरै सहयोगी हातहरू रहेछ भन्ने लागेको छ ।’
चितवन स्थायी घर भई राजधानीमा मोडलिङ र कलाकारितामा संघर्षरत सविनालाई समाजसेवा गर्ने सानै देखिको रहर थियो । ‘मलाई सानै देखि कसैलाई पनि सहयोग गर्नुपर्छ भन्ने थियो । ठुलो भएपछि पनि आफ्नै खुट्टामा उभिएर केही न केही गर्छु भन्ने अठोठ राखेकी थिए । यो पटक जन्मदिनका दिन पार्टीमा खर्च गर्नुभन्दा यी आमाहरुसँग मनाउँछु भन्ने लाग्यो र, पहिलोपटक आफ्नै कमाइले सक्दो सहयोग गर्न पाएँ आनन्द लागि रहेछ ।’ उनले भनिन् ।

सविनाले युवाहरूले सामाजिक सेवाको भावना राख्नु पर्ने खास गरी जीवनको उत्तरार्धमा रहेका जेष्ठ नागरिक प्रति आदर सत्कार र माया दिनुपर्ने बताइन् । ‘यी आमाहरू भनेका इतिहास हुन्, यिनीहरूले हामीहरुका लागि जति गरेका छन्, त्यसको लेखाजोखा गर्न सकिन्न ।’ उनले भनिन् ।
सविना कलाकारितामा भर्खरै पाइला चाल्दै गरेकी युवती हुन् । सन् २०१५ मा सम्पन्न मिस ग्लोबल इन्टरनेशनलमा मिस फोटो जेनिक भएकी उनले वानसट्मा खिचिएको गिनिजबुकमा नाम लेखाउन सफल फिल्म ‘जालो’मा समेत अभिनय गरेकी छिन् भने, केही म्युजिक भिडियो र विज्ञापनमा समेत आफ्नो कला देखाईसकेकी छिन् । यसका अलावा उनले सचेतनामुलक डकुमेण्ट्रीमा पनि अभिनय गरेकी छिन् ।
तपाईँ हामी आफ्नो र आफ्नो परिवारको जन्मदिनमा के गर्छौ ? साथीभाईहरुको जमघट गरेर पार्टी गर्छौ, जाँड रक्सी खान्छौं । घरमा सानासाना बालबालिकाहरुको जन्मदिन प¥यो भने, छिमेकी बोलाउँछौं, केक काट्छौं र पार्टी दिन्छौं । यो हाम्रो समाजको चलनचल्तिको संस्कार हो । यो परम्पराले हामीलाई खर्चिलो र भड्किलो बनाइरहेको छ ।
अहिले समाजमा यस्ता धेरै आमाहरू हुनुहुन्छ जो परिवारको तिरस्कार, अपहेलनाबाट आमाघरमा आइपुग्नु भएको छ । हामीले यस्ता आमाहरुलाई आफ्नो आफ्ना परिवारका कसैको पनि जन्मदिन वा अन्य कुनै अवसरमा सक्दो सहयोग गर्ने बानी विकास गर्न सक्यौं भने, त्यसले समाज निर्माणमा ठुलो सहयोग गर्नेछ । जेष्ठ नागरिक भनेका राष्ट्रका गहना हुन्, उनीहरू देशको जिउँदो इतिहास पनि हुन् । उनीहरूको पालनपोषण र संरक्षणमा राष्ट्र, समाज र परिवार नै लाग्नु आवश्यक छ । यसका लागि कुनै आइतबार कुर्न पर्दैन, कुनै ठुलो धनराशी खर्च गर्न पर्दैन, मात्र आफ्नो पकेट खर्च र जन्मदिनमा गरिने खर्चलाई सदुपयोग गरे पुग्दछ ।








