‘म भारतमा हुँदा काठमाडौँ नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ?’ ‘मेरो के गल्ति छ र !’

काठमाडौँ, भदौँ १८ । काँग्रेस सभापति एंवम प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई हप्काएजस्तो गरेका छन् । ‘म भारत भ्रमणमा हुँदा तपाईँले काठमाडौँ नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ? यो त अति नै भयो ।’ हिजो शनिवार त्रिवि कार्यकारी परिषद् बैठकमा देउवा खनियामाथि खनिए ।

पाँच दिने भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग संविधान संशोधनबारे कुरा गरेपछि सबैको तारो बनेका देउवाले प्राज्ञिक पूर्वाधार पूरा नगरेर एक्कासि काठमाडौँ नेसनललाई सम्बन्धन दिएर ठुलो भूल गरेको भन्दै डा. खनियालाई बैंठकमा हप्काएको स्रोत बताउँछ । त्रिवि कुलपति समेत रहेका देउवाले भारत भ्रमणमा जानुअघि मसँग ‘खै सहकार्य गरेको ?’ भनी प्रश्न गर्दै आफ्नो र सरकारको छवि विगारेको समेत आरोप लगाए । यससँगै त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काललाई स्थगित गरेको छ।

प्रधानमन्त्री तथा कुलपति देउवाको कुरा सुनेपश्चात् उपकुलपति खनियाले ‘मैले एकलौटी ढङगले कलेजलाई सम्बन्धन दिएको हैन । सर्वोच्च अदालतले पटक–पटक निर्णय गरेपछि सम्बन्धन दिनुपरेको हो । यसमा मेरो के गल्ती छ र !’ आफूले दुवै तर्फको समस्या समाधान गर्न खोजेको बताउँदै उनले भने ‘अदालतको आदेश अटेर गरेको खण्डमा मानहानि मुद्धामा तपाईँलाई पनि कारबाही हुन्छ, मलाई पनि हुन्छ । यो त थाहा भएकै कुरा हो । त्यसैले मैले गल्ती गरेजस्तो लाग्दैन ।’ स्रोतले बतायो ।

फोन  उठ्दैन

मेयरका उम्मेद्धार तथा व्यापारी बसरुद्दीन अन्सारी

चार वर्षअघि आवास भवनका लागि भनेर स्थापना गरिएको काठमाडौँ नेशनल मेडिकल कलेज माओवादी छाडेर एमालेमा प्रवेश गरी वीरगञ्ज महानगरपालिकामा मेयरको टिकट पाएर हारेका व्यापारी बसरुद्धीन अन्सारी र जैनुद्धिन अन्सारीले किनेका हुन् । त्यतिखेर घरजग्गा व्यवसायमा मन्दी आएपछि वीरगन्जस्थित मेडिकल कलेजका सञ्चालकसमेत रहेका जैनुद्दिन अन्सारी र बसरुद्दीन अन्सारीले घट्टेकुलोमा रहेको यो भवन किनेका थिए। तर, आवासका नाममा बनाइएको भवनमा मेडिकल कलेज सञ्चालनमा ल्याइएको थियो । अस्पतालका लागि चाहिने आधारभूत मापदण्ड नै पूरा नगरी सो मेडिकल कलेजलाई सर्वोच्चले समेत सम्बन्धन दिन पटक पटक त्रिविलाई पत्रचार गरेको थियो । अहिले अन्सारीद्वयले यस विषयमा फोनसम्पर्क गर्दा फोन उठाउँदैनन् ।

एमबिबिएस पढाउन सम्बन्धन पाएको उक्त कलेज सुनसान छ । मेडिकल कलेजले एमबिबिएस पढाउने मान्यता पाउन मेडिकल काउन्सिलको मापदण्ड अनुसार ‘नयाँ मेडिकल कलेज खोल्न ३०० बेडको अस्पताल कम्तीमा तीन वर्ष नियमित सञ्चालन भइरहेको हुनैपर्छ। अस्पतालले १०० जना एमबिबिएस विद्यार्थी भर्ना लिन कम्तीमा ३०० बेडमध्ये १८० बेडमा नियमित बिरामी भर्ना भएको हुनुपर्छ। दैनिक अस्पताल आएर जाँच गराउने बिरामीको सङ्ख्या ५ सय हुनुपर्छ।’ तर, उक्त कलेजभित्र सबै बेड खाली रहेका छन् । कुनै विरामीहरु उपचारका लागि त्यहाँ जाने गरेका छैनन् ।

डा. गोविन्द केसीले काठमाडौँ उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायत १० बुँदे मागहरू राखेर अनसन बस्दै स्थगित गरेको ११ पटक भइसकेको छ । तर, सरकारले उनको माग पनि पूरा गरिदिएको छैन भने चिकित्सा शिक्षा विधेयक संसद्मा विचाराधीन भएर बसेको छ । तर, यही बेला त्रिविले नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको हो । डा. केसीको पक्षमा उभिदै संसदका ठुला तीन दल बाहेक साना दलहरूले सरकारले काठमाडौँ मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै विरोधसमेत गरिएको थिए । उक्त समयमै मधेसमा बाढीले हजारौँ घर डुवानमा परेपछि डा. केसीले आफ्नो मागभन्दा जनताको जीउ ज्यान ठुलो भएको बताउँदै झोलामा औषधि बोकेर मधेस झरे । हाल उनी अस्वस्थ छन् फेरि १२ औ पटक अनसन थाल्ने तयारीमा जट्न लागेको स्रोतले बतायो ।

घट्टेकुलोमा व्यापारीद्वय अन्सारीले आवास भवनबाट अस्पतालका नाममा होर्डिङ बोर्ड झुण्डाएको चार वर्ष बितिसकेको छ । तर,मेडिकल कलेजको भवनको कुनै निरीक्षणबिना एमबिबिएस पढाउन त्रिविले सम्बन्धन दिएको हो । अवकाशको पूर्वसन्ध्यामा तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सो कलेजलाई सम्बन्धन दिने वा नदिने निर्णय छिट्टै गर्न त्रिविलाई आदेश दिएसँगै उनीहरूले अवकाश लिएको तीन वर्षपछि बिनानिरीक्षण त्रिविले कलेजलाई सम्बन्धन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =