फार्इनान्सकाे कराेडाैं ठग्ने प्रहरीकाे फन्दामा, मुख्य अभियुक्त भने अमेरिकामा

माघ १५, काठमाडौं । करोडौं ठगी गरेर फरार भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको करोडौं ठगी गरेका काठमाडौं गागलफेदी स्थायी घर भएका विमल खड्कालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

खड्का पछिल्लो समय चितवन बस्दै आएका थिए । उनलार्इ भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको थियाे । बैंकिङ कसुर मुद्दामा २०७१ वैशाख २९ गते पुनरावेदन अदालत पाटनबाट कैद तथा जरिवानाको फैसला आदेश भएका खड्कालाई शनिवार चितवनबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता ९एसपी० जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

उच्च अदालत पाटनले उनलाई पाँच करोड ७५ लाख जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर फैसला गरेपनि उनी फरार रहँदै आएका थिए ।

२०६५ पुसमा प्रतिवादी खड्काले आफू सञ्चालक रहेको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाडौं साङ्ला गा।वि।स। वडा नम्बर ९ समेतका जग्गाहरु धितो राखी ५ करोड ७५ लाख कर्जा निकासा गरी आफैले उपयोग गरेका थिए । अदालतले यसरी कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाइनान्सका निक्षेपकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सान गरेको ठहर गरेको थियो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरण केशर नेपाललाई केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म नियन्त्रणमा लिइसकेको छ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमीटेडलाई ठगीमा संलग्न मुख्य अभियुक्त पवन कुमार कार्की भने फरार छन् । उनी अमेरिकामा लुकेर बसेका छन् ।

अमेरिकाको ग्रिनकार्डधारी कार्कीलाई नियन्त्रणका लागि नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिश जारी गरेपनि पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =