राष्ट्रपति आज युएई जाने, यस्तो छ कार्यतालिका


कात्तिक २७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज युएई भ्रमणमा जाँदैछिन् । राष्ट्रपति भण्डारी युएईका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणका आज त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उहाँकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन् ।
यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
करिव दुई लाख नेपाली कामदार रहेको संयुक्त अरब इमिरेट्स र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ ।
नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् र नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको हो । यस दूतावासलाई सन् २००७ डिसेम्बर ११ मा राजदूतावासमा परिवर्तन गरियो । युएईले पनि सन् २०१६ को मे १० मा नेपालमा आवासीय नियोग स्थापना गरेको हो ।
राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।
यो पनि जानौं
भीआईपीको सवारी हुँदा ट्राफिक जामको सास्ती व्यहोर्दै आएका काठमाडौंबासीले आज पनि त्यस्तै समस्या भोग्नुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी अवधिभर ट्राफिक प्रहरीले शितल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सवारी रुटमा अरु गाडी चल्न दिनेछैन ।
भीआईपीको सवारी नसकुन्जेल ट्राफिक प्रहरीसँगै सुरक्षाकर्मीहरुले सडकको दायाँबायाँ गाडी रोक्ने, बाटो काट्न नदिने र पैदल यात्रीहरुलाई समेत हिँडडुलमा कडाई गर्ने गर्दछन् ।
ट्राफिक प्रहरीका अनुसार अपरान्ह साढे चार बजे शितल निवासबाट राष्ट्रपति भण्डारी बाहिरिने छिन् । शितल निवासबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ ।








