भरतपुरमा बाढीबाट एक हजार घर प्रभावित
“
साउन ३०,भरतपुर । भरतपुर महानगरपालिकामा बाढीबाट झण्डै एक हजार घर प्रभावित भएका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १३, २३, २२, १४, २७, र २८ वडाका बासिन्दाहरु बाढीबाट बढी प्रभावित भएका भरतपुर महानगरका मेयर रेणु दाहालले जानकारी गराइन् । भरतपुर महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिकाको सबै वडा गरी करिब एक हजार घर बाढीबाट प्रभावित भएका जानकारी दिएको छ ।
सबैभन्दा बढी वडा नम्बर २७ को अन्द्रौली (साविक मेघौली गाविस) मा ६०० घर बाढीबाट प्रभावित भएका छन् । बाढीबाट प्रभावित हुनेहरु स्थानीय स्कुलमा बास बसेका छन् । त्यस्तै वडा नम्बर २८ मा ४०० घर बाढीबाट प्रभावित भएका छन् । वडा नम्बर १३ मा ४२ घर बाढीबाट प्रभावित भएका छन् । त्यस्तै, वडा नम्बर २३ मा कोरियन अनाथालयबाट विद्यार्थीसहित केही घरधुरी प्रभावित भएका भरतपुर महानगरपालिकाले जनाएको छ ।
वडा नम्बर २२ मा बाढीबाट विस्थापित भएका ७० जनालाई श्रीशक्ति निमावि राधापुरमा राखिएको छ । ‘डुबानमा परेका २२ घर परिवारका ७० जनालाई श्रीशक्ति निमाविमा राखेर ड्राईफुड खुवाइरहेको छौँ’ वडा नम्बर १४ का वडाध्यक्ष ओमप्र्रसाद पोख्रेलले भने ।
यसैबीच भरतपुर महानगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । मेयर रेणु दाहालले विपद् व्यवस्थापन राहत कोष स्थापना गरी एकद्वार प्रणाली सुरू गरेकी हुन् । एकद्वार प्रणालीले एनजीओ र आईएनजीओलाई आफूखुसी राहत बाँढ्न रोकेको छ ।
पत्रकार सम्मेलनमा मेयर दाहालले भनिन्, ‘बाढीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न इच्छुक व्यक्ति, विभिन्न संघसंस्थाले भरतपुर महानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक भरतपुरस्थित विपद् व्यवस्थापन कोष भरतपुर महानगरपालिकाको खाता नम्बर ६२४१ मा रकम जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
उनले भौतिक सामग्रीहरुको सहयोगमा समेत महानगरपालिकासँग समन्वय गरी अभिलेख गराई सम्बन्धित स्थानमा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा वितरण गर्न अनुरोध गरेकी छन् ।
राहत वितरण
भरतपुर महानगरपालिकाले भरतपुर महानगरको २७ र २८ वडामा राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब नारायणगढको सहयोगमा महानगरपालिकाले ६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ‘राहत सामग्री वितरण गर्न सुरू गरिएको छ, यो क्रम जारी रहन्छ’ भरतपुर महानगरका उपमेयर पार्वती शाहले भनिन् । त्यस्तै वडा नम्बर १३ गंगानगर सिमलटाँडीका बाढी पीडितलाई मेयर रेणु दाहालको टोलीले ४६ घरधुरीलाई खाद्यान्न, कपडा वितरण गरेको छ ।
“