उद्धार र राहत वितरणमा ढिला सुस्ती भएको एमाले नेता खनालको आरोप

“
काठमाडौं, साउन ३० । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दा समेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिला सुस्ती गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेताखनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदा समेत सरकारले युद्धस्तरमा काम नगरेको आरोप लगाउनुभयो ।
उहाँले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताउनुभयो । वर्षात् हुने क्रमजारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
“








