भारत चीन डोकलाम विवादका कारण फस्दै छ सगरमाथा

साउन ३०, मकालु खबर । करिब दुई महिनादेखि जारी भारत चीन डोकलाम विवादका कारण सगरमाथाको उचाई मापन गर्ने महत्वाकांक्षा अभियान अड्किएको छ । भारत र नेपालको उक्त साझा मिसनमा भारत सरकारको एजेन्सी अफ सर्भे अफ इन्डियाले काम गरिरहेको थियो । विवादपश्चात् नेपाल सरकार यसबारे मौन बसेको छ । नेपाल र भारतका वैज्ञानिकको संयुक्त समूह दुबै देशको सरकारबाट आगामी निर्देशनको पर्खाइमा छन् । सर्भे अफ इन्डियाको यो महत्वाकांक्षी परियोजनाका अनुसार सगरमाथाको उचाईलाई पुनः मापन गर्ने योजना छ । यो मिशनको उद्देश्य अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले प्रस्तुत गरेको एक शंकालाई टाढा गर्नु हो ।

अन्तर्राष्ट्रिय स्तरमा २०७२ को महाभूकम्प पश्चात् सगरमाथाको उचाईमा परिवर्तन भएको अनुमान गरिएको छ । सर्भे अफ इन्डिया संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई नाप्ने यो परियोजना नेपालसँग मिलेर पूरा गर्न चाहन्छ । तर, भारत–चीनबिचको तनावको स्थितीमा नेपाल मौन बसेको छ । सगरमाथा नेपाल र चीनको सीमामा छ । सन् १७६७ मा स्थापना भएको सर्भे अफ इन्डिया आफ्नो २ सय ५० औं वर्षगाँठको मौकामा यो परियोजना माथि काम गरेर यो मौकालाई अविष्मरणीय बनाउन चाहन्थ्यो । यसै कारण जब सगरमाथाको उचाईमा फरक आएको विषयमा शंका जताइयो तब यसको उचाई मापनका लागि सर्भे अफ इन्डिया निकै उत्साहित भयो ।

पछिल्लो तीन महिनादेखि नेपालबाट यसबारे कुनै पनि प्रतिक्रिया नआएपछि सर्भे अफ इन्डियाले भारतीय विदेश मन्त्रालय मार्फत नेपालका विदेश मन्त्रालयसँग यसबारे धारणा सार्वजनिक गर्न माग राख्यो । सर्भेयर जनरल अफ इन्डिया मेजर जनरल वीपी श्रीवास्तवले भने, ‘विदेश मन्त्रालय मार्फत नेपाललाई प्रस्ताव पठाइएको थियो तर अहिलेसम्म कुनै जवाफ आएको छैन । यो मिसनमा अहिले कुनै पनि प्रगती हुन सकेको छैन ।’ श्रीवास्तवभन्दा अघि उक्त पदमा रहेका स्वर्ण सुब्बा रावले नै उक्त प्रस्ताव तयार गरेका थिए । उनका अनुसार भारत र चीनबिचको तनावका कारण नेपालले जवाफ दिन यति धेरै समय लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *