बाढी पीडितलाई राहतः जनता अघिअघि, सरकार पछि
“
साउन २९, काठमाडौँ । सरकारले बाढी पीडित जनतालाई तत्काल उद्धार तथा राहत पु¥याउन नसकिरहेको अवस्थामा कलाकारहरू अघि बढेका छन् । जनताको जिउधनको सुरक्षाको ग्यारेण्टी गर्न नसकिरहेको सरकारलाई चुनौती दिँदै नेपाली चलचित्रका क्रियाशील केही कलाकारहरूले स्वतस्फूर्त राहत सङ्कलन र उद्धारमा जुटेका हुन् । भने, गैह आवासिय नेपाली महासंघ (एनआरएन), ब्यवसायीक निजी क्षेत्रले पनि सक्रियता जनाएका छन् । सरकारको संयन्त्र प्रभावकारीरुपमा परिचालन नहुँदा लाखौँ जनता डुवानमा छन् । अहिलेसम्म देशभरबाट ६४ जनाको मृत्यु भइसकेको छ, भने लाखौँ जनता घरबार विहिन बन्न पुगेका छन् ।
सरकारको मन्त्री परिषद्को आज बसेको आकस्मिक बैठकले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँको दरले राहत दिने र मन्त्रीहरुले १ महिनाको तलब दिने निर्णय गरी नसक्दै कलाकार र विभिन्न संघ संस्थाहरुले स्वतःस्फुर्त व्यक्तिगत घोषणा गर्न थालेका थिए ।
धुर्मस गए महोत्तरी
दुई वर्ष अघिको विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई एकीकृत आवास निर्माण गरेर उदाहरणीय काम गरेका हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’का तर्फबाट उनी औषधी, खाद्यान्न, त्रिपालसहित महोत्तरी गएका छन् । राहत वितरणमा उनले खाद्यान्न सहित औषधोपचार र चिकित्सक समेतलाई लिएर जाने बताएका छन् ।
मह सञ्चारको १ लाख
यसै गरी हास्य क्षेत्रमै तीन दशकदेखि सक्रिय जोडी ‘मह’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको संस्था मह सञ्चारका तर्फबाट नगद १ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, उनीहरूले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भइरहेको पनि जानकारी दिएका छन् ।
नायिका पूजा शर्माको १ लाख
यस्तै, चलचित्र प्रेमगीतबाट चर्चामा आएकी नायिका पूजा शर्माले पनि नगद १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । शर्माले आफंैै बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न चाहेपनि मौसमले साथ नदिँदा जान नसकेको बताइन् ।
दीपकराज १ लाख, दीपा–प्रियंका ५१/५१ हजार
यसै गरी भर्खरै छक्का पञ्जा जस्तो सफल चलचित्र बनाएर चर्चामा आएका हास्य कलाकार दीपकराज गिरीले रु एक लाख, दिपाश्री निरौला र नायिका प्रियंका कार्कीले ५१/५१ हजार रकम घोषणा गरेका छन् ।
नेपाल टेलिकमको निःशुल्क एसएमएस
नेपाल टेलिकमले तीन दिनको लागि एसएमएस निःशुल्क बनाएको छ । आज आइतबारदेखि लागू हुने गरी साउन ३१ गतेसम्मका लागि टेलिकमको नेटवर्क भित्र मुलुकभर एसएमएस निःशुल्क बनाएको हो ।
टेलिकमकी प्रमुख कामीनी राजभण्डारीले बाढीपीडित क्षेत्रका जनतालाई ध्यानमा राखेर सेवा सुचारु गर्न विशेष पहल भइरहेको बताइन् । ‘टेलिकमको नेटवर्कमा आएको समस्यालाई विशेष महत्त्व दिएर पुनःसञ्चालनको काम भइरहेको छ,’ उनले भनिन् ।
एनआरएन पनि अगाडी
यस अघि दुई वर्ष अघिको महाभुकम्पमा राहत, उद्धार र पुर्ननिर्माणमा सक्रिय सहभागिता देखाएका महासङ्घका अध्यक्ष शेष घलेले बाढी पीडितका लागि एक करोड रुपैयाको आपत्कालीन राहत कोष घोषणा गरेका छन् ।
सङ्घका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गरी तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको हो । यस्तै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
साथै एनआरएनए कुवेतले आर्थिक सङ्कलन अभियान चलाउने घोषणा गरेसँगै एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले ५१ हजार नेपाली रुपैयाँ आर्थिक सहयोगको घोषणा गरे । यस्तै नआरएनआरएनए एनसीसी कुवेतको राहत तथा उद्धार कोषबाट समेत १ लाख रुपैयाँ सहयोग गरिने एनआरएनए कुबेतले जनाएको छ । कुवेतका अन्य चार संस्था किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च, भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाज कुवेतले संयुक्त रूपमा राहत सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।
एनसेलको सापटी सेवा रकम वृद्धि
एनसेल प्रा. लि. ले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । भने, ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ ।
सापटी सेवा अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले रु ४० प्राप्त गर्दै आएकोमा मङ्गलवार सम्मका लागि रु ६० प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले विद्यमान सेवा शुल्क रु २.५१ मा नै थप सापटी रकमको सुविधा लिन सक्छन् ।
यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क रु १.२५ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधा मङ्गलवारसम्म निःशुल्क बनाएको छ । बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आकस्मिक सूचना आदान प्रदान गर्न निःशुल्क आपत्कालीन सम्पर्क नम्बर ९००८ सञ्चालनमा ल्याएको छ । प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधि मार्फत सूचना पु¥याउन सक्छन् ।
बुद्ध एयरद्वारा २५ लाखको प्रारम्भिक राहतकोष स्थापना
बुद्ध एयरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २५ लाखको प्रारम्भिक राहतकोष स्थापना गरेको छ । यस कोषबाट मोरङ र सुनसरीका अति प्रभावित वस्तीहरुमा राहत सामग्रीहरू खाद्यान्न, औषधी लगायत वितरण गर्नेछ ।
राहतका सम्पूर्ण कार्यक्रम बुद्ध एयर स्वयम्ले सम्बन्धित टोल, युवाक्लव तथा सुरक्षाकर्मीको सहयोगमा परिचालन गर्नेछ । राहत कोष सञ्चालन गर्दा लाग्ने अतिरिक्त प्रशासनिक खर्च बुद्ध एयर स्वयम्ले बेहोर्नेछ ।
“