आठ सय सात उम्मेदवारमा महिला ४१ मात्रै, हेभिवेटका नाममा ‘टिकट चेट’

काठमाडौँ, ११ कात्तिक । आगामि मंशिरमा हुन लागेको प्रतिनिसिभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले प्रत्यक्ष तर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याईं गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाको उम्मेदवारी परेकामा त्यसमा महिला उम्मेदवार ४१ छ । तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार छन् । राजनीतिक दलहरुले कतिपय महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाएका थिए ।
नेपालको संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरेको छ । तर, पहिलो चरणको निर्वाचनमा महिलाको सरदर उम्मेदवारी पाँच प्रतिशतको हाराहारीमा मात्र परेको छ ।
निवार्चन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मुख्य पार्टीबाट न्यून सङ्ख्यामा उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट बाग्लुङ–१ मा चम्पादेवी खडका र खोटाङबाट सरस्वती बजिमयले प्रत्यक्षबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वमा कमला रोकाले उम्मेदवारी दर्ता गराएकी छन् ।
पहिलो चरणमा प्रदेशसभाका ७४ सिटका लागि वाम गठबन्धनले पाँच महिलालाई मात्रै प्रत्यक्षको टिकट दिएको छ । गठबन्धनमा नेकपा माओवादी केन्द्रले गोरखा (क) बाट कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले प्रदेशसभाका लागि म्याग्दी (ख) बाट नरदेवी पुन र मनाङ (ख) बाट खण्डा लामा गुरुङलाई प्रतिस्पर्धामा खडा गरेको थियो । जसमध्ये खाण्डा लामाको उम्मेदवारी फिर्ता भइसकेको छ ।
नेपाली काँग्रेसका तर्फबाट भने प्रदेशसभामा दुई जना महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । ताप्लेजुङ (क) मा लीलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीले उम्मेदवारी दिएकी छन् ।
राजनीतिक दलहरुले ‘हेभिवेट उम्मेदवार’लाई देखाएर प्रत्यक्ष तर्फ उम्मेदवार हुन चाहने महिलाहरुको टिकट चेट पारिएको भन्दै महिला नेत्रीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आफूहरुलाई उम्मेदवार बन्नबाट पन्छाउन अनेक षडयन्त्र गरिएको आरोप दलका नेतामाथि लगाएका छन् ।
शुक्रबार ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयक अन्तरक्रियामा कार्यक्रममा सहभागी वक्ताले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी समेत दिएका छन् ।
नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि पार्टीबाट ६० महिलाको नाम मागिएकामा जम्मा दुई जनालाई मात्र पहिलो चरणमा टिकट दिइएको आरोप लगाईन् ।
यस्तै, एमाले नेत्री शर्मिला कार्की, नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्मा, नेकपा (माले)की नेत्री नीलम केसी लगायतका महिला नेत्रीहरुले ले राजनीतिक दलभित्र महिलाप्रति हेर्ने सोच र दृष्टिकोणमा सुधारको खाँचो रहेको भन्दै दलहरुले महिलालाई प्रतिनित्वि गर्नबाट रोके आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।
मानवाधिकारकर्मी डा श्रीराम लामिछानेले तथाकथित हेभिवेटका नामा टिकट चेट हुने अवस्थाको अन्त्यका लागि दलभित्र आमूल परिवर्तनको विषयमा बहस चलाउनुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार एक करोड ५४ लाख २७ हजार ९३५मतदाता मध्ये महिला ७६ लाख ५१ हजार १४१ छन् ।








