प्रदेशसभाको पहिलो बैठक अाज हेटौंडामा, यस्तो छ कार्यसूची

काठमाडौं, माघ १८ । देश संघीय संरचनामा गइसकेपछि आज पहिलोपटक प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा आज बस्न लागेको हो । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ ।

बैठक दिउँसो १ बजेबाट हेटौंडाको सभागृहमा सुरु हुने प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गर्नुहुनेछ । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसक्नुभएका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनुहुनेछ । हिजो साँझ ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बैठक बसी उक्त कार्यसूची तय गरिएको हो ।

आजकाे पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुने जनाइएको छ । अन्तरिम कार्यविधिभित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहितालगायत विषय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक, एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची रहेको बताइएको छ ।

आजको बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्नुहुनेछ । प्रदेशसभाका कूल १ सय १० जना सदस्यका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्टाइएको संसद् सचिवलायले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =