प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

“
एजेन्सी । इङ्गलिस प्रिमियर लिग अन्तर्गत प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्राइटन एण्ड होभ आल्बिएनलाई २-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुवात गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो ।
ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा खेलिएको खेलमा गोलरक्षक म्याट रायनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा जिवितै राखेका थिए । तर, दोश्रो हाफको ७० औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले डेविड सिल्भाले उपलब्ध गराएको बललाई सजिलै गोलमा परिणत गरेका थिए ।
त्यसको ५ मिनेट नबित्दै सिटीले आत्मघाती गोलको मद्दतले २ गोलको अग्रता लिन सफल रह्यो । फर्नान्डिन्होको क्रसमा ग्याब्रीयल जेससलाई हेडिङ गर्न रोक्न खोज्दा डिफेन्डर लेविस डंकले आफ्नै पोष्टमा गोल गरेका थिए ।
यस जितसँगै उपाधिको लक्ष्य राखेको सिटीले महत्त्वपूर्ण तीन अंक हासिल गरेर सुखद सुरुवात गरेको छ । ब्राइटनले भने प्रिमियर लिगको पहिलो अंक जोड्न अर्को खेल कुर्नु पर्नेछ ।
“








