भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सौराहामा हुँदै

कार्तिक २०, भरतपुर । चितवन जिल्लामा गाईपालनको तुलनामा भैंसीपालन व्यवसाय घट्दै गइरहेको छ । पछिल्लो समय चितवनमा दूध खानको लागि किसानहरूले भैंसी पाल्न छोडेर बढी मात्रामा गाई पालेको पाइन्छ । भैंसीपालन चितवनमा मात्र होइन, नेपालमै घट्दो रूपमा रहेको तथ्याङ्कहरुले देखाएको छ ।
भैंसीले लामो समयसम्म दूध नदिने, थारो बस्ने, धेरै खुवाउनुपर्ने, स्याहारसुसार बढी गर्नुपर्ने, गाईको तुलनामा भैंसीले दूध थोरै दिनेलगायतका कारणले भैंसी पाल्न छोडेको भरतपुर महानगरपालिका वडा नम्बर २५ का किसान दीपक खनालले बताए । जिल्ला पशु कार्यालय चितवनले पनि गाईपालनको तुलनामा भैँसी पालन कम रहेको जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले गाईको तुलनामा भैंसी नै बढी उपयोगी हुने बताए । उनले भैंसीको प्रजनन् प्रविधि, दूधको मात्रा बढाउन विभिन्न विधि तथा यसको उत्पादन र गुणस्तर वद्धिमा ध्यान पु¥याउन सके भैंसी उपयोगी हुने बताए । प्रा डा ढकालले भने, ‘पशुपालनको महत्त्वपूर्ण अङ्ग भैंसीपालन हो, यसको वृद्धिविकास र अनुसन्धान गर्नको लागि भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सौराहामा गर्न लागिएको छ ।’
पशुु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आउँदो कार्तिक २९ गतेदेखि मङ्सिर २ सम्म पशुपालनअन्तर्गत विशेष महत्त्व राख्ने भैंसीपालन र भैंसी उत्पादनको क्षेत्रमा कार्य गरिरहेका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सौराहामा हुन गइरहेको छ । नेपालमै पहिलो पटक यस्तो सम्मेलन आयोजना हुन गइरहेको ढकालले जानकारी दिए ।
सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगालादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र क्यानडाका वैज्ञानिकहरू सहभागी हुनेछन् । सम्मेलनमा नेपालसहित विश्वका ११ देशका भैंसीसम्बन्धी अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष प्राडा शारदा थपलियाले जानकारी दिइन् ।
आइतबार भएको पत्रकार सम्मेलनमा थपलियाले भनिन्, ‘५५ जना विदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागिता रहनेछ ।’ सम्मेलनमा नेपालसहितका ९० वटा ‘पेपर’ प्रस्तुतिकरण हुने आयोजक कमिटीका सदस्य सचिव डा भूमिनन्द देवकोटाले जानकारी दिए । सम्मेलनबाट भैंसीपालनमा वृद्धिविकास गर्न सहयोग पुग्ने आशा गरिएको छ । सम्मेलनबाट नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंसीजन्य उत्पादन वृद्धिको लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा अनुसन्धानको केन्द्र बनाइने उद्देश्य लिइएको सदस्य सचिव देवकोटाले बताए ।
नेपालमा भैंसीको अवस्था
भैसीलाई जनावरमध्ये सबैभन्दा उन्नत र राम्रो मानिन्छ । जनावरमध्ये ५३ प्रतिशत योगदान भैंसीको छ । नेपालमा कूल १७ लाख मेट्रिक टन दूध भैसीले मात्रै दिन्छ । यो मात्रा भनेको कूल दूध उत्पादनको ७० प्रतिशत हुन आउँछ । कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंसी उत्पादनले ओगटेको छ । नेपालमा पनि भैंसीपालन परापूर्वकालदेखि पालिँदै आइएको हो । मुख्यतया दूध तथा मासु उत्पादनको लागि भैंसी पालिन्छ ।
क्षेत्रगत रूपमा हेर्दा पूर्वाञ्चलमा २३ प्रतिशत, मध्यमाञ्चलमा २७ प्रतिशत, पश्चिमाञ्चलमा २५ प्रतिशत, मध्यपश्चिमाञ्चल १५ प्रतिशत र सुदूरपश्चिमाञ्चलमा १० प्रतिशत रहेको छ । त्यसै गरी दुधालु भैंसीको सङ्ख्या पूर्वाञ्चलमा २६ प्रतिशत, मध्यमाञ्चलमा २७ प्रतिशत, पश्चिमाञ्चल २८ प्रतिशत, मध्यपश्चिमाञ्चलमा २० प्रतिशत र सुदूरपश्चिमाञ्चलमा २७ प्रतिशत रहेको छ । नेपालमा झन्डै आठ सय किसानले व्यावसायिक भैसी पालन गर्दै आएका छन् ।
विश्वमा ४२ देशमा भैंसी पालिन्छ । नेपालमा ५२ लाख भैंसी पालिएको छ । नेपालमा लिमे, पार्कोटे र गड्डी भैंसी पालिने गरिएको छ । तराईतिर मुर्रा भैंसी पनि पालिने गरिएको छ ।








