कसैलाई थाहा छ,हाम्रो मृत्यु कहिले हुन्छ ? : अङगदान गरौँ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
जन्म पश्चात् मृत्यु अबस्वम्भावी छ, यो प्रकृतिको नियम हो । हरेक जीवात्माको मृत्यु कहिले, कहाँ, कसरी, कुन अवस्थामा हुन्छ केही थाहा हुँदैन । प्रख्यात रुसी साहित्यकार लिओ टोल्स्तायको ‘व्हाट मेन लिभ बाइ ?’मानिसलाई के दिइएको छैन र ? भन्ने प्रश्नको उत्तरमा सुर्यास्त अगाडी मृत्यु हुने व्यक्तिले समेत वर्षौं खप्ने जुत्ता अर्डर गर्ने र बिग्रेमा सजाय गर्ने कठोरता देखाउदा मानिसलाई आफ्नो आवश्यकता के हो भनी थाहा नदिएको झैँ हामी सबै आज हेरिरहेका छौँ, भोलि के हो भनी कसैलाई थाहा छैन । तसर्थ, आज बाटै हामीलाई भोलि आवश्यक पर्ने वस्तुको जगेडामा लागौ । यस धर्तीमा जबसम्म हामी रहन्छौ तब सब सत्कर्म गर्दै मानव सेवामा रहनु नै जीवनको पुण्य कमाउने उपाय हो । जुन सुकै धर्म वा सम्प्रदायमा हेर्ने हो भने पनि मानवीय कर्मको माध्यमबाट नै धर्मको मार्गमा प्रवेश गर्न सकिन्छ र मोक्ष प्राप्ति हुन्छ ।
हामीले हरेक दिन रक्तदान जीवनदान भन्ने नारा देखि रहेका छौँ । धेरैले रक्तदान गरेर नयाँ जीवन प्रदान गरेका छौँ, हामी कतिले रक्तदानको महत्त्व र सामान्य मानिसले दान गर्दा स्वयमा कुनै हानी गर्दैन भन्ने थाहा नपाइरहेका पनि छौँ । अमेरिकामा रहेका अर्जुन प्रसाद मैनालीले सय पटक भन्दा रक्तदान गरेका छन् र उनी यसको महत्वको प्रकाश पार्दै सबैलाई बुझाउने प्रयासमा समेत रहेका छन् । कत्ति व्यक्तिले प्लेटलेट्स र बोन म्यारोको समेत दान गरेका छन् । अमेरिकामा रक्तदान गर्ने नेपालीहरूको एउटा संस्था समेत रहेको छ, जसले विभिन्न ठाउँमा रक्तदानको आयोजना गर्ने गर्दछ । यस बाहेक पनि नेवास् अर्गनाइजेसन तथा बिआरटि नेपाल लगायत अन्य सङ्घ(संस्थाले समेत यस्ता कार्यक्रम आयोजना गरिरहेकाछन् । नेपालीहरू विश्वका जुनसुकै भागमा रहे पनि मानवसेवामा समर्पित रहेको ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् । विभिन्न देशमा रक्तदान गर्न मिल्ने आ(आफ्ना प्रावधान छन्, जसलाई सम्बन्धित देशमा रहेका रेडक्रसको कार्यालयमा गई बुझ्न सकिन्छ ।
हामीले रक्तदानको विषयमा सुनिरहेको, बुझेको र कतिले गरिरहेका पनि छौ । तर, अंगदानको विषयमा हामीले कमै मात्रामा सुनेका छौँ । हाम्रो मृत्युपश्चात समेत मानव सेवा गर्न सकिने यस कार्यबाट राम्रो सँग बुझ्न नसक्दा हामीहरू यस महान् कार्य गर्नबाट चुकिरहेका छौँ ।
अंगदानलाइ इसाई, मुस्लिम, बुद्दिस्ट, हिन्दु, सिख लगायत सबै धर्मवालम्बीहरुले गर्न उपयुक्त छ भनी धर्म गुरुहरुले समेत विभिन्न स्थानमा उल्लेख गरेका छन् । क्रिस्टियन धर्मको म्याथिउ १०:८ मा “”बिरामीलाई निको पार्न….तिमीले स्वतन्त्र रूपमा पाएको, स्वतन्त्र रूपमा देऊ”” भनी उल्लेख गरिएको छ । क्याथोलिक धर्मगुरु पोप जोन पौल दित्तीयले आफ्नो इनसाइक्लिकल चिठीमा भगवानले हामीलाई दिएको यस विशिष्ट उपहारलाइ अंगदान गरी भगवानको उपहार अर्कोलाई प्रदान गर्नसक्छ भनी उल्लेख गरेकाछन् ।
हिन्दु धर्ममा भागवत गीताको अध्याय २:२२ मा हामीले कपडा परिवर्तन गर्दा पुरानो फाले झैँ आत्माले समेत नयाँ शरीरमा जाने उल्लेख भएको छ ।
“”वसम्सी जिर्नानी यथ विहय
नवनी ग्र्ह्नती नरो ‘परानी
तथ सारीरानी विहय जिर्नन्य्
अन्यनी सम्यती नवन्दी देहि। “”
( “”एक व्यक्ति नयाँ पोसाक लगाउछौ भने पुरानो लाई छोडी रहेका हुन्छौ त्यसै गरी प्राणले नयाँ शरीर स्वीकार गर्दै पुरानो र बेकारी शरीरलाई छोडी रहेको हुन्छ । “”)
समस्टिगत रूपमा भन्नु पर्दा सबै धर्मले व्यक्तिगतरुपमा अभिप्रेरित भएर नै मानिसले अंगदान गर्न सक्ने उल्लेख गरेको पाइन्छ । कानुन निर्माताहरूले समेत व्यक्तिको निर्णय नै सर्वोपरी हुने गरी यस विषयका कानुन निर्माण गरेका छन् ।
नेपालमा नेत्रदान र किड्नी प्रत्यारोपण बढी देखिएको छ भने पछिल्लो समयमा बोन म्यारोको प्रत्यारोपण समेत सुरु भएको छ ।
विश्वमा अङ्ग प्रत्यारोपण सम्बन्धी तथ्य
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार विश्वभर पूर्ण अन्धोपना भएका ३९ मिलियन (३ करोड नब्बे लाख) र आंशिकरुपमा आँखा नदेख्ने २४६ मिलियन (चौबिस करोड साठी लाख) व्यक्तिहरू छन् । सङ्गठनले ८० प्रतिशत आँखाको समस्या उपचार वा प्रारम्भिक रेखदेखमा समाधान गर्नसकिने जनाउदै बिश्वब्यापी अभियान सञ्चालन गरेको छ । जन्मजात अन्धोपन भएका देखि पछि अन्धोपना हुने सम्मका व्यक्तिहरू संसार देख्न सकिने आसमा बसिरहेकाछन्, उनीहरूलाई कसैले नेत्रदान गरेमा विश्वलाई मृत्यु भइसकेको व्यक्तिको मार्फतबाट देख्न सक्नेछन् ।
असीको उमेरमा बित्नु भएको मेरो आमाले नेत्रदान गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । उहाँको चाहानालाई दाजुहरुले सम्मान गर्दै गरेको नेत्रदानबाट एक बालकले संसार देख्ने मौका पाएका छन् । सो बालक मार्फत मेरो आमाले यो संसार हेरिरहनुभएको छ । हामीहरूले चाहाने हो भने विश्वभर अन्धोपना मुक्त गराउन सक्दछौ ।
नेशनल फाउनडेशन फर ट्रान्सप्लान्टका अनुसार अमेरिकामा मात्र अङ्ग प्रत्यारोपणका लागि पर्खीरहेकाहरु मध्यबाट २२ व्यक्तिको मृत्यु भइरहेको हुन्छ । एउटा व्यक्तिले अंगदान गर्दा आठ व्यक्तिको जीवन बचाउन सहयोग पुग्छ भने पचास भन्दा बढी व्यक्तिको जीवनमा परिवर्तन ल्याउन सक्छ ।
अङ्ग प्रत्यारोपणको जागरण गराउन सम्भव छ ?
विश्वमा दैनिक करिब तीन लाख पचास हजार व्यक्तिको जन्म र एकलाख पचास हजार व्यक्तिको मृत्यु भइरहेको हुन्छ । कुनै पनि व्यक्तिलाई यी अंगहरुको आवश्यकता कुनै पनि समयमा हुन सक्ने हुँदा आफूलाई दाताको रूपमा दर्ता गरेर राख्नाले आफ्नो जीवन रक्षाको आधार खडा हुनुको साथै अरूको जीवन रक्षाको आधार समेत तयार हुँदै धर्म कमाउन पाउने कुरा बुझाउन सक्नु पर्दछ । मानिस पृथ्वीको कुनै कुनामा रहे पनि उसलाई आवश्यकता पर्ने हृदयंगम गराउन जरुरत देखिएको छ । भगवानबाट विशिष्ट उपहार स्वरूप प्राप्त अङ्गको स्वेच्छाले दान गरी आफ्नो मृत्यु पश्चात् समेत लोककल्याणकारी काम गरी नमुना प्रदान गर्ने अवसर सबैको सामु रहेको छ । सबैको सहभागिताले विश्वभरबाट अङ्ग प्रत्यारोपणका लागि पर्खी रहेकाहरुले राहत पाउने थिए, नयाँ संसार देख्ने थिए ।
अग्नि चौलागाईं, मेरो खबरबाट साभार
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)