संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन्छ: वाणिज्यमन्त्री विश्वकर्मा

काठमाडौं, साउन २७ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने जानकारी दिनुभएको छ । बैठकमा संसोधन प्रस्ताब पेश भई पारित हुने उहाँको विश्वास छ । आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा अगाडी बढाईने र प्रस्तावको पक्षमा बहुमत जुट्ने उहाँको विश्वास थियो ।

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै उहाँले त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा गर्नुभयो । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको उहाँको भनाई थियो । ‘एमालेका लागि संविधान संशोधन प्रस्ताव निल्नु न ओकल्नु भइसक्यो ’उहाँले भन्नुभयो राजनीतिक सहमति गरेर अगाडि बढ्ने नीतिका साथ सरकार अगाडी बढेको छ ।

मंसिरको पहिलो हप्ताका लागि प्रदेश र संसदको चुनाव एकैसाथ गर्ने गरी मिति घोषणा गर्ने तयारीमा सरकार रहेको पनि उहाँले बताउनुभयो । माओवादी केन्द्रका नेता अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने बताउनुभयो । राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको उहाँको भनाई थियो । नेकपा एमाले राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै उहाँले देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको उहाँको भनाई थियो । तर, नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भने संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने ठोकुवा गर्नुभयो । नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै उहाँले राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने उहाँको अडान थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *