ट्याक्सी चढेर लुट्ने लुटेरा पक्राउ

भक्तपुर, २७ साउन । यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ । चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन् ।

पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–७ बस्ने वर्ष २६ को सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर आज बिहान काठमाडाँै कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद रु पाँच हजार ९७०, चाँदीको सिक्री एक थान, सामसुङ मोबाइल थान एक थान र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो ।

गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी 

यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ । बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताउनुभयो ।

स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताउनुभयो । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *