मन्त्री शर्माको कार्य शैली प्रति प्रहरी सङ्गठनमा असन्तुष्टि

साउन २७, मकालु खबर । उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आम जनताको वाहवाही पाएका गृहमन्त्री जनार्दन शर्मा त्यही विरासत कायम राख्ने कोसिसमा देखिएका छन् । गृहमा सुधारका योजना समेत उनले सार्वजनिक गरेका छन् । सरुवा, बढुवा र भनसुनलाई अस्वीकार गर्ने शर्माको अभिव्यक्तिले सुरुवाती दिनमा उनले गृहमा समेत राम्रै गर्ने भए भन्ने सबैतिर अपेक्षा बढेको थियो । कारण, ऊर्जाको सकारात्मक राप र ताप मन्त्री शर्मामा बाँकी नै थियो । तर, मन्त्री शर्माका सहयोगीहरुका कारण उनको योजना भुत्ते मात्र हुँदै छैन, विभागीय प्रहरी सङ्गठनभित्र चरम असन्तुष्टि समेत बढ्दै जान थालेको छ ।

मन्त्री शर्माको सचिवालयमा रहेका कर्मचारीले प्रहरीभित्र अनावश्यक दबाब र चलखेल बढाएपछि प्रहरी महानिरिक्षक प्रकाश अर्याल समेत तनावमा रहेको विशेष स्रोतले बतायो । एसपी मिरा चौधरी जनकपुर सरुवा भइसकेपछि पनि रमाना नदिनु, आफ्ना भतिजलाई सबैभन्दा आकर्षक स्थान मानिने कास्कीको वैदाममा खटाउनु जस्ता पछिल्ला केही कदमले आइजीपी प्रकाश अर्याल तनावमा पुगेका छन् भने शर्माले मन्त्रालय सम्हाले लगत्तै दिएको सुधार योजनामा तगारो लाग्न थालेको छ । शर्माका सहयोगीकै कारण बढुवा भएका प्रहरीको अहिलेसम्म पदस्थापना हुन सकेको छैन । सरुवामा समेत त्यस्तै लफडा भएको छ, ।

नेपाल प्रहरीमा लामो समयको पर्खाइपछि बल्लतल्ल बढुवाको ढोका खुलेपछि प्रहरीका एआईजीदेखि हवल्दारसम्मले बढुवा भए । तर, गृहमन्त्रालयको कार्यशैलीका कारण उनीहरूले चाहना भएर पनि चित्तबुझ्दो काम गर्न पाएका छैनन् । प्रहरीमा २ सय भन्दा बढी अधिकृतले फुली लगाएको एक साता कटिसक्दा पनि उनीहरूले के काम गर्ने भन्ने बारेमा टुंगो लागेको छैन । उनीहरूलाई प्रहरी प्रधान कार्यालय र विभिन्न प्रहरी कार्यालयमा दिनभर गफिएर यता उता गर्दै ठिक्क छ । बढुवा भएकाहरुको पदस्थापना नभएका करिब २ सयको हाराहारीमा सिनियर अधिकृतदेखि जुनियर अधिकृतहरु गफ मात्रै चुटेर दिन कटाइरहेका छन् ।

सामान्यतया बढुवा भएर दज्र्यानी चिन्ह पाए लगत्तै उनीहरूको पदस्थापना भएर कार्यस्थल तोकिनु पर्ने हो । तर, गृहमन्त्रीको सचिवालयमा रहेका सहयोगी र प्रहरी प्रधान कार्यालयको कुरा नमिल्दा त्यसको प्रभाव प्रहरीको दैनिकीमा देखिएको छ । प्रहरीमा असन्तुष्टि बढिरहेको कुरा आइरहेका बेला प्रहरी प्रवक्ता डीआईजी पुष्कर कार्कीले भने एकै पटक धेरै अधिकृतहरुको बढुवा भएका कारण पदस्थापना गर्न समय लागेको बताए । प्रवक्ता कार्कीले भने, ‘बढुवाको दज्र्यानी चिन्ह लगाए लगत्तै पोस्टिङ पाइने विगत थियो, तर यस पटक अलि समय लाग्यो मिलाउने काम हुँदैछ ।’

गृहमन्त्रालय नीति निर्माण गर्ने काम भए पनि प्रहरीको सरुवा बढुवामा मन्त्रालयले सधैँ हस्तक्षेप गर्दै आएको छ । प्रहरीका कुन ईन्सपेक्टरलाई कता कता सरुवा गर्ने, कुन डीएसपी, कुन एससपीलाई कुन ठाउँमा पठाउने भन्ने बारेमा योजना बनाउने काम प्रहरी प्रधान कार्यालयको भए पनि मन्त्री र उनका आसेपासेको हस्तक्षेप निरन्तर बढ्दो छ । गृहमन्त्रालय स्रोत भन्छ, ‘गृहमा जुन पार्टीको मन्त्री आउँछ, उसैका कार्यकर्ताका दिन फिर्छन्, हामी गृहका कर्मचारीको केही चल्दैन, प्रहरी सङ्गठनलाई सुधार गर्ने भन्दै गृहमन्त्री ज्यू लाग्नु भएको छ, तर उहाँका सहयोगीहरु जिल्लामा टेलिफोन गरेरै यसलाई यता र उता सरुवा गर भन्दै दबाब दिन्छन् ।’

प्रहरी स्रोतका अनुुसार गृहमन्त्रीको कार्यशैलीका कारण अहिले सङ्गठनभित्र काम गर्नै मुस्किल भएको प्रहरी अधिकृतहरू बताउँछन् । जनार्दश शर्मा गृहमन्त्री भएपछि राजनीतिक दबाब कम होला कि भन्ने प्रहरी अधिकृतहरु नै अहिले गृहमन्त्रीको आलोचना गर्न थालेका छन् । सरुवामा भएको गृह मन्त्रालयको हस्तक्षेपका कारण प्रहरीमा निकै समस्या आउन सक्ने एक एसएसपी बताउँछन् । गृहमन्त्रीका सहयोगी गोपाल शर्माका कारण डीएसपी, इन्सपेक्टर र भर्खरै बढुवा भएकाहरुको पदस्थापना तथा सरुवामा प्रभावित भएको स्रोतको दाबी छ ।

‘प्रहरी सिस्टममा चल्ने कोसिस गरिरहेको छ, राजनीतिक दबाब भएपछि सिस्टममा रहेर काम गर्दा अलि उचित हुन्थ्यो, तर निर्देशिका विपरीत काम गर्न गृहमन्त्रीका सहयोगी नै अग्रसर हुन्छन् अनि कसरी प्रहरीमा सुधारको आशा गर्ने ?’, स्रोत प्रतिप्रश्न गर्छ ।

स्रोतका अनुसार गहृमन्त्री शर्माका सहयोगी गोपाल शर्माले ५–६ सय जना प्रहरी सिपाई हवल्दारको मात्र सूचना तयार पारी प्रहरी प्रधान कार्यालयमा बुझाएका छन् । मन्त्री ज्युको आदेश भन्दै उनले सरुवा मापदण्ड मिचेर सरुवा भए पनि यी आफूले भनेका व्यक्तिको सरुवा गर्न भन्दै दबाब दिने गरेका छन् । प्रहरी सरुवा निर्देशिका अनुसार प्रहरी निरीक्षक भन्दा मुनिका दर्जाको सरुवा भएर गएको २ वर्षसम्म एकै ठाउँमा रहेर काम गर्नुपर्छ, तर गृहमन्त्रीका सहयोगीहरुले सरुवा भएको ६–७ महिना पुगेका अधिकृतलाई पनि सरुवा गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई दबाब दिएको स्रोतले जानकारी दियो ।

गृहमन्त्री शर्माको निर्देशनमै पोखराको लेकसाईटको एरिया इन्चार्जमा आफ्नो नातेदार, काठमाडौँ परिसरको एकाउन्टमा आफ्ना मान्छे काज सरुवा गराएको भन्दै सामाजिक सञ्जालमै चर्चा भएको थियो । त्यसै गरी धनुषा प्रहरी प्रमुखमा एसपी मिरा चौधरीको सरुवा बदर गर्न गृहमन्त्रीले दबाब दिएको भन्दै विरोध समेत भएको थियो । गृहमन्त्री एकातिर साइरन नबजाइकन हिँड्ने, प्रहरी सुधारका मार्गचित्र प्रस्तुत गर्ने भित्र भित्र भने अनावश्यक हस्तक्षेप गरेका कारण केही महिनाअघि मात्र महानिरीक्षक बनेका प्रकाश अर्याल तनावमा आएको स्रोत बताउँछ ।

स्रोत : न्यूजसेवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *