मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

आज मनसुन सक्रिय, सावधानी अपनाउन जल तथा मौसम विभागको आग्रह

काठमाडौं, साउन २७ । मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा आज बिहानबाट बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीय क्षेत्रमा पनि उच्च जोखिममा रहेकाले सचेतता अपनाउन आग्रह गरेको हो ।

विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले नदी तटिय क्षेत्रका सबै स्थानीय नागरिक, सो क्षेत्रमा आवतजावत गर्ने र सम्बन्धित सबैलाई सतर्कता अपनाउन तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत विशेष अपिल गरिएको जानकारी दिनुभयो ।

प्रतिकृयाहरु
Loading...