भारतले ओलीलाई नयाँ एजेन्ट बनाउन खोज्दैछ : गजुरेल

उदयपुर, माघ ९ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीलाई भारतले आफ्नो नयाँ एजेन्ट बनाउन खोजेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ, जिल्ला समिति उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले प्रधानमन्त्री नहुँदै ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएर भारत भ्रमणको निम्ता दिनुले उनलाई आफ्नो एजेन्टका रुपमा प्रयोग गर्न खोजेको प्रष्ट हुने बताए । उनले भने, “प्रधानमन्त्री हुनु अगावै पटक–पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलाीलाई फोन गरेर भावी प्रधानमन्त्रीको रुपमा बधाई, शुभकामना दिनु र दिल्लीमा स्वागत गर्न आतुर छु भन्नु भनेको भारतले ओलीलाई नयाँ एजेन्टको रुपमा प्रयोग गर्न खोज्नु हो ।”

अध्यक्ष गजुरेलले एमाले र माके नक्कली वाम भएको आरोप समेत लगाए । एमाले र माकेले जनतामा कम्युनिष्ट र वामको रुपमा भ्रम छरेर चुनाव जितेको दावी गर्दै उनले भने, “एमाले माके नक्कली कम्युनिष्ट वाम हुन् । सक्कली कम्युनिष्ट र माओवादी त हामी मात्रै हौं ।”
उनले वास्तविक कम्युनिष्ट र माओवादी भनेको क्रान्तिकारी माओवादी मात्रै रहेको दावी गर्दै नयाँ जनवादी क्रान्ति गर्न चाहने कम्युनिष्टहरुसँग पार्टी एकता गरिने स्पष्ट पारे ।
क्रान्तिकारी माओवादी उदयपुरको बैठक प्रशिक्षणका लागि गाईघाट पुगेका नेता गजुरेलले सोमबार जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिएका थिए ।








