विद्युत प्रशारणमा समस्या आउँदा माडीमा अन्धकार


किशोर खनाल

साउन २६, चितवन । साउन ४ गतेदेखि विद्युत् प्रसारणमा समस्या आएपछि माडी अन्धकार भएको छ । यसको विरोधमा माडीबासी चरणबद्ध आन्दोलनको तयारीमा जुटेका छन् ।

माडी बिजुली उपभोक्ताहरुको प्रारम्भिक बैठकले विद्युत् प्राधिकरणलाई तत्कालै निकुञ्जभित्रको भूमिगत प्रसारण लाइन मर्मत गर्न दबाब दिने, ओभरहेड इन्सुलेटेड केबुल बिस्तारको लागि स्थानीय, जिल्लास्तरीय तथा केन्द्रीय निकाय वा मन्त्रालयमा डेलिगेसन जाने फल्ट लोकेटर मेशिन माडीमै राख्न पहल गर्ने र यूनेस्कोसँग समन्वय गरी सक्दो सहजीकरण गर्ने विषयमा छलफल गरी यी सम्पूर्ण कार्य सम्पादनका लागि विद्युत् सरोकार समूह माडी गठन गरेका छन् ।

माडीको चितवन राष्ट्रिय निकुञ्ज भित्र जमिनमुनिबाट ल्याइएको विद्युत् लाइन पड्केपछि माडीको विद्युत् प्रसारण बन्द भएको हो । नेपालकै पहिलो अन्डरग्राउण्ड माध्यमबाट सञ्चालित विद्युत्मा एकवर्ष सञ्चालन नहुँदै धेरैनै समस्या देखिएको छ । मर्मत गर्दा २, ३ दिन चल्ने र फेरि बिग्रने गर्दा माडीमा दीर्घकालीनरुपमा विद्युत् सञ्चालन हुन सकेको छैन ।

अण्डरग्राउन्डमा कपर तार बिछाउनुपर्ने ठाउँमा आल्मुनियम तार बिछाइएको, ८ र १० किलोमिटर जङ्गलमा एउटै मात्र आल्मुनियममा बिछ्याउन समस्या भएको, टुक्राटुक्रा गरी बिछ्याउँदा बर्षाद्को समयमा विद्युत् सञ्चालनमा समस्यामा देखिएको र आयोजनालाई परिवर्तन गरी कपर तार परिवर्तन नगरेसम्म यस्तो माडीमा देखिने र समस्या पत्ता लगाउनका लागि मेशिन र प्राविधिक लागिरहेको विद्युत् प्राधिकरणका योजना प्रमुख जगदिश जोशीले जानकारी दिएका छन् ।

माडीमा देखिएको यस्तो समस्यालाई दीर्घकालीनरुपमा सुचारु गराउनका लागि आवश्यक ओभरहेडमार्फत विद्युत् सञ्चालन या अन्डर ग्राउन्डमार्फत समस्या सामधान गराउने विषयमासमेत प्राधिकरणले विशेष चासो लिइरहेको प्राधिकरणका प्रमुख जोशीले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले दिएको जानकारी अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको अन्डर ग्राउण्ड केबलमा समस्या आएको छ । उक्त समस्या समाधान गर्न नेपाली प्राविधिकहरुले बारम्बार प्रयास गरेता पनि त्यसले सफलता हात पार्न सकेको छैन ।
माडीमा विद्युत् सेवा वितरण गर्ने परियोजना नेपाल सरकारलाई हस्तान्तरण भइनसकेको हुँदा अन्डरग्राउण्ड केबलमा समस्या आएमा ठेकेदार पक्षले नै मर्मतको काम गर्नुपर्ने हुन्छ । वारेन्टी सकिने क्रममा रहेकोले, छिट्टै यो आयोजना हस्तान्तरण हँुदैछ ।
निकुञ्ज भित्रको भूमिगत विधुतीय तार ठेकेदार कम्पनीले कमसल प्रयोग गरेको भन्ने ब्यापकतापछि पनि नेपाल सरकारको नेपाल केन्द्रीय विधुत् प्राधिकरणले बेवास्ता गरेकोले हाल यही हालतमा नेपाल केन्द्रीय विद्युत् प्राधिकरणले छानबिन नगरी बाँकी वारेन्टी अवधिसम्म राखिएको बजेट पुरै चुक्ता गरेमा माडी फेरि थप लामो समय अन्धकारमय बन्ने देखिन्छ ।

माडीमा विद्युत् लैजान निकुञ्जभित्र ८ किलोमिटर तार भूमिगत प्रणालीमा लगिएको छ । उच्चस्तरीय भूमिगत तार प्रयोग गर्ने गरी सम्झौता भएको थियो । चनौली–जगतपुर–माडी ३३ केभी प्रसारण लाइन ग्रामीण विद्युत् आयोजनाअन्तर्गत २०६६ सालदेखि विद्युतीकरणको सुरु भएको थियो । आयोजनाको कूल बजेटमध्ये झन्डै आधा खर्च भूमिगत तार प्रणालीमै भएको थियो । जंगली जनावरलाई असर पर्ने भन्दै तत्कालीन अवस्थामा निकुञ्जभित्र हाइटेन्सन लाइन लैजान रोकिएको थियो । फल्ट लोकेटर मेशिन नेपालमा छैन । माडीमा पहिलोपटक विद्युतीकरणको काम २०५५ र २०५६ सुरु हुन लाग्दा निकुञ्जभित्र हाइटेन्सन लाइन लाने बारेमा लामो विवादपछि भूमिगत तार प्रणाली सुरु भएको थियो । माडीमा हाल २४ वटा ट्रान्सफर्मर छन् । जसमध्ये ६ वटा २०० केभीए, १४ वटा १०० केभीए, ४ वटा केभीए क्षमताका छन् । सबस्टेसन ३ एमभीए क्षमताका छन् ।

करिब २४ लाखको अनुमानित लागतमा आयोजना सुरु भएको थियो । यसअघि पनि असार पहिलो हप्तामा समस्या देखिँदा झन्डै दुई हप्ता सेवा अवरुद्ध भएको थियो । यसअघि निर्माणक्रममा सो खण्डमा विद्युत् प्रवाह नहुने समस्या देखिदै आएको थियो । माडीमा सञ्चालनमा रहेका लघु उद्योग, व्यवसाय, सरकारी तथा निजी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, अस्पताललगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको छ । माडीमा हालसम्म ४ हजार ५०० विद्युत् ग्राहक छन् । वनकट्टादेखि बगईसम्मको हुलाकी सडकखण्डको छेउछाउका बस्तीमा विद्युत् सेवा विस्तार भएको थियो ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले निरन्तर समस्या खेप्नुभन्दा विकल्प सोच्नु नै उत्तम हुने बताउँछन् । ‘सुरक्षितरुपमा हाइटेन्सन मार्फत विद्युत् लैजाने विकल्प नै राम्रो छ’ उनले उच्चस्तरीय तार भनेर बिछ्याइएका तार वास्तविकरुपमा गुणस्तरीय भए नभएको निरीक्षण प्राधिकरणले गर्नुपर्ने बताउँछन् । कमसल तार भएमा पुरै हटाएर उच्चस्तरीय तार राख्नुपर्छ सधैँ अँध्यारोमा राख्न हुँदैन ।’
वर्षौंपछि विद्युतीकरण कार्य पूर्ण हुन नपाउँदै भूमिगतरुपमा बिछ्याइएको लाइनमा पटक पटक समस्या आउनुमा निकुन्ज नै प्रमुख कारण बनेको छ । हाइटेन्सनबाट लाइन लान नपाउँदा भूमिगत लाइन लगिएकोमा अहिलेसम्मको स्थिति हेर्दा त्यो दिगो होला भन्नेमा विश्वस्त हुन सकिँदैन ।

निकुञ्जका कारण वर्षौंसम्म विद्युत् विस्तार हुन सकेन, बाध्यकारी व्यवस्थाले गर्दा भूमिगत लाइन बिछ्याउनुप¥यो, जुन असफल सिद्ध हुँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जलाई नेपालकै सान भनिएता पनि वर्षौंदेखि यही निकुञ्ज माडीका लागि अभिषाप सिद्ध हुँदै गएको छ । बर्सेनि जनावरबाट जनधनको क्षति, निकुञ्ज ऐनका कारण निर्वाध रूपमा आवतजावत, वैध काठ ओसारपसारलगायतमा कडाइ हुनु, माडी प्रवेश गर्दा तथा बाहिँरिदा पनि शुल्क तिर्नुपर्ने प्रावधानले गर्दा निकुञ्ज नै माडी विकासको बाधाको रूपमा रहेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *