गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने प्रस्ताव विरुद्ध तालाबन्दी

गोरखा, पुस २० । भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेसाल सार्ने प्रस्तावको विरोधमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ ।

गाउँसभाको बैठकले भीमसेन–४ बगुवामा रहेको गाउँपालिकाको केन्द्र त्यहाँबाट सारेर करिब तीन किलोमिटर टाढा भीमसेन–१ मसेलको घ्याम्पेसालमा सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

बगुवाका स्थानीय प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा रहेको संघर्ष समितिले गाउँपालिकाको केन्द्र बगुवा नै राख्नुपर्ने भन्दै घ्याम्पेसालमा सार्न नदिइने चेतावनीसहित गाउँपालिकाका प्रमुख ईश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलको कार्यकक्षमा आज दिउँसो ताला लगाएका हुन् । तालाबन्दीपछि सेवाग्राहीको कामकाज ठप्प भएको छ ।

गाउँसभाको केही समयअघि बसेको बैठकमा केन्द्र सार्ने निर्णय हुँदा नेकपा (माओवादी केन्द्र)बाट विजयी एक सदस्यले ‘माइन्यूट’ च्यातेका थिए ।

बगुवामा रहेका प्रहरी हबल्दार शक्ति लामिछानेले असन्तुष्ट समूहले गाउँपालिकामा तालाबन्दी गरेको पुष्टि गर्नुभयो । गाउँपालिकाको केन्द्र सामान्य बहुमतद्वारा निर्णय गर्न सक्ने कानूनी प्रावधान छ ।

यस्तै भीमसेन गाउँपालिकाको नाम परिवर्तन गरेर भीमसेन थापा गाउँपालिका राख्न मन्त्रिपरिषदमा सिफारिश पठाइएको छ । असन्तुष्ट समूहले गाउँपालिकाको केन्द्र सार्ने निर्णय फिर्ता नलिएसम्म ताला नखोल्ने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =