काठमाडौंमा रहेको ‘धरान डेन्टल’ मा सिलबन्दी

काठमाडौँ–  जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति बिना सञ्चालनमा रहेको मैतिदेवीस्थित ‘धरान डेन्टल’ मा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत आइतबारदेखि शुरु गरेको बजार अनुगमनका क्रममा अनुमति बिना नै सञ्चालन गरेको पाइएपछि उक्त डेन्टललाई आज सिलबन्दी गरी आवश्यक कागजपत्रसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

संयोजक दीपकराज पोखरेल, कपिलप्रसाद रेग्मीसहितको अनुगमन टोलीले आजै गरेको अनुगमनका क्रममा मैतिदेवीमा रहेको सावित्री क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर र विवेक फार्मेसीले जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिएको अनुमतिपत्र देखाउन नसकेका कारण २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।

यसैगरी, अनुगमन टोलीले सिनामंगलमा रहेको युनिक कोल्ड स्टोरबाट खान अयोग्य ७० किलोग्राम कुखुराको मासु नष्ट गरेको छ । उक्त मासु पसल अत्यन्तै फोहर रहेको, व्यवसाय दर्ता नभएको, मूल्यसूची नराखेको पाइएकाले सात दिनभित्र विभागमा आउन भनिएको हो ।

विभागले पछिल्लो समय विभिन्न समूह बनाएर बजार अनुगमनलाई तीव्र बनाएको छ । आज मात्रै विभागले खाद्य किराना, भवन निर्माण सामग्री, फलफूल तथा तरकारी, औषधि तथा क्लिनिक, माछा मासु पसल र यातायातका क्षेत्रको अनुगमन गरेको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *