दृष्टिविहीन परिवारको लागि बले र कक्रोचको २ लाख ५० हजार सहयोग

काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले ठूलो रकम हस्तान्तरण गरेका छन् । सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन घरको लागि उनीहरुले २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् ।
बुधबार हास्य टेलिसिरियल भद्रगोल सुटिङ हुने ठाउँ मुड्खुमा एक कार्यक्रम आयोजना गरी बले र कक्रोचले जिग्रीपाडें प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल ‘जिग्री’ र कोषाध्यक्ष अर्जुन घिमिरे ‘पाडें’ लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
साँस्कृतिक कार्यक्रमको लागि गत चैत २४ गते बले र कक्रोच अमेरिका गएका थिए । त्यहाँ उनीहरुले २ वटा मात्र स्टेज कार्यक्रमबाट उक्त रकम संकलन गरेका हुन् ।
त्यस्तै पाडेंले अमेरिकाबाट यति ठूलो रकम संकलन गरेर जिग्रीपाडें प्रतिष्ठानलाई हस्तान्तरण गर्ने बले कक्रोचलाई धन्यवाद साथै अमेरिकामा रहेर सहयोग गर्ने मनकारी मनहरुलाई पनि धन्यवाद दिएका छन् ।
उनले भने, ‘घर निर्माण कार्य पनि ८० प्रतिशत सम्पन्न भएको छ भने २० प्रतिशत रकम अपुग भएको छ । अझैं पनि सहयोगका लागि अपिल गर्दछु ।’
उनीहरुले दृष्टिविहिन परिवारको लागि बनाइरहेको घर निर्माणको लागि ३० लाख आवश्यक पर्ने पहिले नै बताइसकेका छन् । यही जेठको अन्तिममा उनीहरुले सो घर ३ परिवारलाई हस्तान्तरण गर्ने समेत बताएका छन् ।








