भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण, थप विद्युत् आउने

काठमाडौं, साउन २५ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले न्यूनतम् रु ८.८८ देखि अधिकतम् रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँदिल्लीमा रहेका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा दिएको जानकारीअनुसार न्यूनतम् भारु ५.५५ र अधिकतम् भारु ६.४५ मूल्य निर्धारण गरिएको छ ।

विशेषगरी सानो क्षमताको प्रसारणलाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।

प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारणलाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ ।

निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारणलाइनमार्फत् आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।

भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो ।

मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।

विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलोपटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको प्रवक्ता अधिकारीले बताए ।

गत मार्चसम्म प्राधिकरणले खरिद गर्दै आएको विद्युत्को मूल्य सोही बराबर नै रहेको थियो । नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमताभन्दा पनि बढी क्षमताका प्रसारणलाइनमार्फत् बढी विद्युत् आयात गरे मूल्य कमपर्ने देखिएको छ ।

अर्को बैठक सन् २०१८ को मार्चभित्र राखेर अर्को वर्षका लागि विद्युत्को मूल्य निर्धारण गरिनेछ ।

भारतको उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभी क्षमताका तीनओटा तथा ३३ केभी क्षमताका दुईओटा अन्तरदेशीय प्रसारणलाइन निर्माणकाबारेमा ऊर्जा सचिवस्तरीय दुई देशीय समितिको आगामी बैठकमा पेस गर्ने र अन्तिम निर्णय गर्ने सहमति भएको छ ।

यस्तै, सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पलिया प्रसारणलाइन आगामी दुई महिनाभित्र सन्चालनमा ल्याउने सहमति भएको छ । उक्त प्रसारणलाइनबाट १० मेगावाट विद्युत् आयात हुँदै आएको थियो ।

थप विद्युत् आउने
आगामी हिउँदमा विद्युत्भार कटौती पूर्णरुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत् थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भएपनि रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारणलाइनमार्फत् विद्युत् आयात हुनसकेको थिएन ।

भारतीय पक्षले महँगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले वर्षाको समयमा ती प्रसारणलाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्नसकेको थिएन ।

नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी नयाँ प्रसारणलाइनबाट थप विद्युत् आयात गर्ने निर्णय गरेको छ भने विद्युत्को मूल्यसमेत तय गरेको छ ।

ती प्रसारणलाइनबाट ५०/५० मेगावाट विद्युत् प्रतियुनिट रु ८.८८ (भारु ५.५५) मा आयात हुने प्रवक्ता अधिकारीले जानकारी दिए ।

बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदान–प्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ ।

हाल भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । सो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत् आयात हुनेछ ।

थप प्रसारणलाइन निर्माणको प्रस्ताव
आदान–प्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग तीनओटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारणलाइन निर्माणको प्रस्ताव राखेको छ ।

अधिकारीकाअनुसार पलिया–धनगढी र अत्तरिया, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गरेका थिए ।

यसअघि, बैठक सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युत्को मूल्य प्रतियुनिट रु ११ सम्म तिर्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *