संसद बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं, साउन २५ । हाजिर गरेर पनि संसद बैठकमा उपस्थित नभएपछि आजको संसद बैठक निर्धारित कार्यसूची नसकिँदै भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
विधेयक पारित गर्न उपस्थित हुनुपर्ने सांसद संख्या १४८ रहेकोमा तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा १३७ जना मात्र उपस्थित थिए । दोस्रो पटक गणपूरक संख्या गणना गर्नुअघि पहिलो पटकको गणनामा १५७ जना सांसद उपस्थित थिए ।
त्यसपछि विधायन समितिको प्रतिवेदन सहितको अपराध संहिता विधेयक, २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव, अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएर पारित भएको थियो ।
यस्तै, सुत्केरी र रजस्वला भएको बेलामा महिलामाथि हुने विभेदजन्य व्यवहारलाई कसुर परिभाषित गरेको मुलुकी अपराध संहिता विधेयक २०७४ आज संसदले सर्वसम्मतिले पारित गरेको छ ।
यो कानुन अर्को वर्ष भदौ १ गतेदेखि लागू हुनेछ । मुलुकी अपराध संहिताको दफा १६० मा उपदफा थप गरी छाउपडीलाई कसुर घोषित गरिएको हो ।
सामाजिक अन्धविश्वासका रुपमा सुदूरपश्चिम र कर्णालीका विभिन्न क्षेत्रमा कायम रहेको प्रथामा अब तीन महिनासम्म कैद हुनेछ ।
यस्तै, कसुरदारलाई कैदसँगै तीन हजार रुपैयाँसम्म जरिवाना पनि हुन सक्नेछ । घटनाको प्रकृति हेरी दुवै सजाय समेत कसुरदारलाई हुन सक्नेछ ।

गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको जानकारी दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थलमा पुगेर अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि दोषीलाई कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *