प्रचण्डलाई देउवाको प्रस्ताव ‘प्रधानमन्त्री बन्नुस्, मज्जाले पाँच वर्ष चलाउनुस्’

पुस ४, काठमाडौं । प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलेको छ । दाहाल र देउवाबीच गत शनिबार बालुवाटारमा भएको भेटमा देउवाले वाम गठबन्धन तोड्दै प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव गरेका थिए । सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा दाहालले देउवाबाट प्रधानमन्त्री बन्न अफर आएको तथ्य खोलेका हुन् ।

‘शेरबहादुरजीले मलाई तपाईं प्रधानमन्त्री हुनोस्, हामी समर्थन गर्छाैं, पाँच वर्ष मज्जाले सरकार चलाउनोस् भन्नुभयो,’ बैठकमा दाहालले भनाइ उधृत गर्दै माओवादी नेता अग्नि सापकोटाले भने । ‘मैले वाम गठबन्धनको स्पष्ट बहुमत आएको छ, जनताले अनुमोदन गरिसकेका छन्, जनताको आदेशविपरीत म जान सक्दिनँ भन्दै बलियो रचनात्मक प्रतिपक्षको भूमिका खेल्नोस्, आर्थिक समृद्धिको ढोका खोल्न मिलेर जानुपर्छ भनेँ,’ बैठकमा दाहालको भनाइ थियो ।

माओवादी नेता सापकोटाका अनुसार देउवाले कांग्रेस पार्टीबाट आधिकारिक रूपमै सभापतिको हैसियतमा प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै स्वीकार गर्न देउवाले दाहाललाई आग्रह गरेका थिए ।

बैठकमा प्रचण्डले कतिपय माओवादीकै नेताहरू एकता भाड्न विभिन्न शक्तिकेन्द्र धाउने गरेको, कांग्रेस र मधेसवादी नेतासँग छलफलमा बसेको सूचना आफूलाई आएको भन्दै त्यसो नगर्न सचेत थिए । ‘जनताबाट अनुमोदित भइसकेको पार्टी एकताविरुद्ध लाग्नेहरू समाप्त हुन्छन्, हामीभित्र मात्रै होइन, एमालेमै कोही रहेछन् भने पनि आफैं सकिन्छन्, जनता र कार्यकर्ताबाट अनुमोदन भएको निर्णय नमान्नेहरू जुन पार्टीमा भए पनि टिक्नेवाला छैनन्,’ बैठकमा अध्यक्ष प्रचण्डले भनेका थिए ।

बैठकमा एकता विरोधी नेताका रूपमा परिचित नेता कृष्णबहादुर महरा र वर्षमान पुनले पनि एकताकै पक्षमा आफ्नो धारणा राखेका थिए । पार्टी्भित्र सामान्य बहस गर्दा बाहिर जाने गरेको गुनासोसहित दुवै नेताले एकताको विरुद्धमा लाग्नुपर्ने कारण नरहेको प्रष्टीकरणसमेत दिएका छन् । अध्यक्ष दाहालले कडाइका साथ निर्देशन दिएपछि दुवै नेताले एकताको स्प्रिटकै आधारमा आफ्नो भनाइ राखेको तर मातृका यादवले भने घुमाएर एकताको विपक्षमा उभ्याएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘बैठकको सुरुमै अध्यक्षले एकताविरोधी सकिन्छन् भनेपछि महरा र पुनजी एकताको विरोधमा बोल्नु भएन, एकताकै स्प्रिटमा देखिनुभयो, मातृका यादवको सुझावमा भने थोरै एकताविरोधी भाव झल्किन्थ्यो,’ ती नेताले भने, ‘यादवले पनि सोझै भन्नुभएन, घुमाएर एकताको विपक्षमा कुरा राख्नुभयो, अध्यक्षले केही संकेत गर्नासाथ सच्याउनुभयो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =