वातानुकूलित व्यायामशालामा उपभोक्ताको आकर्षण

मंसिर २, काठमाडौँ । काठमाडौंको सुन्धारामा खुलेको वातानुकूलित शारीरिक व्यायामशाला (फिटनेश पार्क) मा उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ । बेलायतको उपकरण आयात गरी नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सुविधासम्पन्न फिटनेश पार्कमा उपभोक्ताको घुँइचो लाग्न थालेको व्यायामशालाले जनाएको छ ।
सुन्धारास्थित सिटिसी महलको आठौँ तलामा गत सोमबारदेखि सञ्चालनमा आएकोे सो पार्क करिब छ हजार वर्गफिटमा फैलिएको तथा ४०० जना अट्ने क्षमताको र अपांगमैत्री भएको पार्कका प्रबन्ध निर्देशक उत्तम सिलवालले जानकारी दिए ।
करिब रु पाँच करोडको लगानीमा स्थापित सो पार्कमा व्यायामशालाका लागि आधुनिक उपकरण तथा स्पासमेत छन् । उहाँले स्पाअन्तर्गत महिला पुरुषका लागि अलगअलग साउना, ज्याकुजी, स्टिम तथा बाथको व्यवस्था रहेको जानकारी दिए ।
व्यायाम प्रशिक्षणका लागि १५ जना राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरका प्रशिक्षक छन् ।
पार्कमा एकल स्टेशन जिम, ट्र्याम्पोलिङ र समूहगत साइक्लिङसमेत रहेको जनाइएको छ । शारीरिक व्यायामका क्रममा घाइते भएमा तत्काल प्राथमिक उपचार तथा वार्षिक बीमाको व्यवस्था रहेको बताइएको छ ।








